तिलोत्तमा नगरमा सुरु भयो पूर्णसरसफाई अभियान

0
263

एघार हजार डष्टबिन वितरण गरिँदै
बीपी गौतम
तिलोत्तमा, भदौ २२ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पूर्णसरसफाई अभियान सुरु भएको छ । आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले नगरपालिकासँगको सहकार्यमा अभियान सुरु गरेको हो । अभियानको शुक्रबार मणिग्राममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।
पूर्णसरसफाई अभियानअन्तर्गत् पहिलो चरणमा संस्थाको कार्यक्षेत्रमा झण्डै ११ हजार डष्टबिन वितरण गरिने छ । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ को नारालाई सार्थक बनाउन नगरपालिकासँगको सहकार्यमा उपभोक्तालाई कुहिने र नकुहिने फोहोर संकलन गर्न दुई÷दुई थान डष्टबिन वितरण सुरु गरिएको संस्थाका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए ।
संस्थाअन्र्तगत् वडा नं. १, ३, ४, ५, ६, ८ र ९ का पाँच हजार पाँच सय सात जना उपभोक्ताले धारा जडान गरेका छन् । धारा जडान गरेका यिनै उपभोक्तालाई संस्थाले डष्टबिन वितरण सुरु गरेको हो । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले अन्य खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा नगरका अन्य वडाहरुमा पनि क्रमशः पूर्णसरसफाई अभियान सञ्चालन गरिने जानकारी दिए ।
उपभोक्तालाई वितरण गरिएको रातो डष्टबिनमा सड्ने र निलोमा नसड्ने फोहोर राख्नुपर्ने नियम संस्थाले बनाएको छ । अभियान कार्यान्वयनका लागि संस्थाले पूर्ण सरसफाई कार्यान्वयन कार्यविधि जारी गरेको छ । कार्यविधिमा पूर्णसरसफाई अभियानमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र लापरवाही गर्नेलाई जरिवानको व्यवस्था समेत गरिएको छ ।
अध्यक्ष न्यौपानेले संस्थाको कार्यक्षेत्रलाई दुई वर्षभित्र पूर्णसरसफाईयुक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उपभोक्तालाई पूर्णसरसफाई र फोहोर व्यवस्थापन सम्बन्धी जानकारी गराउन प्रत्येक सेवा क्षेत्रमा पूर्णसरसफाई कार्यान्वयन समिति रहने उहाँले बताए । उपभोक्ताले घरमा डष्टबिनमा राखेको फोहोरलाई नगरपालिकाको गाडीले उठाएर लैजाने व्यवस्था मिलाएको अध्यक्ष न्यौपानेले बताए ।
पूर्णसरसफाई अभियान शुभारम्भ कार्यक्रममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले फोहोरमैला व्यवस्थापनका सन्दर्भमा तिलोत्तमाले सुरु गरेको अभियान अन्य नगरपालिकाका लागि पनि सिकाइ हुने उल्लेख गरे । नगरपालिकाका विभिन्न मापदण्डहरुमध्ये फोहोरमैला व्यवस्थापन पनि एक रहेको चर्चा गर्दै मन्त्री बरालले वितरण गरिएको डष्टबिनको सदुपयोग हुनुपर्नेमा जोड दिए ।
नगर प्रमुख बासुदेव घिमिरेले स्रोतबाटै फोहोरको वर्गीकरणले व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तिलोत्तमा नगरपालिकामा फोहोरको दीर्घकालीन र वैज्ञानिक व्यवस्थापनका बारेमा छलफल भैरहेको जानकारी गराए । पूर्णसरसफाई अभियान नगरका अन्य वडाहरुमा समेत क्रमशः सञ्चालन गरिने जानकारी उनले गराए ।
यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख बासुदेव पौडेलले जिल्लामैं पहिलो पटक तिलोत्तमाले पूर्णसरसफाई अभियानलाई कार्यान्वयनको चरणमा ल्याएको बताए । यसैगरी नेपाली कांग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेयले डष्टबिन वितरणले फोहोरको सदुपयोग हुने उल्लेख गरे । यस्तै करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरेले डष्टबिन वितरणले फोहोर व्यवस्थापनलाई सहज बनाउने बताए ।
कार्यक्रममा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था महासंघका रुपन्देही अध्यक्ष ध्रुव धिताल, संस्थाका सल्लाहकार माधव पाठक, उपाध्यक्ष चरामणि भट्टराई, मञ्जु थापालगायतले पूर्णसरसफाईका विभिन्न आयामका बारेमा जानकारी गराएका थिए । शुक्रबार पूर्णसरसफाई अभियान सुशारम्भको अवसरमा केही उपभोक्ता, विद्यालय, अस्पताललाई डष्टबिन वितरण गरिएको छ । अन्य उपभोक्ताहरुलाई क्रमशः वितरण गरिने संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here