इस्कोनलाई गौशाला व्यवस्थापनको जिम्मा

0
66

तिलोत्तमा, असोज २२ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको गौशाला व्यवस्थापनको जिम्मा अन्तर्राष्ट्रिय कृष्णभावना मृत संघ (इस्कोन) नेपालले लिएको छ । राजनीतिक दल, गौशाला व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा सोमबार तिलोत्तमा नगरपालिका र इस्कोनबीच गौशाला व्यवस्थापन सम्बन्धी समझदारी भएको हो ।
समझदारी पत्रमा नगरपालिकाका तर्फबाट प्रमुख बासुदेव घिमिरे र इस्कोनको तर्फबाट पत्रिदास प्रभुले हस्ताक्षर गर्नुभएको छ । सञ्चालनमा कठिनाइ भैरहेको बेला सनातन धर्म र गौमाताको संरक्षणमा क्रियाशील ईस्कोनले गौशाला व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिएको हो । वडा नं. १ को शंकरनगर तथा वडा नं. ८ को करहिया सामुदायिक वन क्षेत्रमा गौशाला रहेको छ ।
सहमति पत्रमा ‘व्यवस्थापन करारको अवधारणा र व्यवस्थापन करारसँग सम्बन्धित प्रचलित कानून अनुसार संचालन गर्नेगरी आजकै दिनदेखि ईस्कोनले तिलोत्तमा गौशालाको सम्पूर्ण जिम्मेवारी लिने’ उल्लेख छ ।
यस्तै इस्कोनले हाल रहेका सबै गाई र नगरपालिकाले सिफारिस गरेका थप गाईहरु गौशालामा राखी स्याहार गर्ने, नगरपालिका तथा समुदायको हित र इच्छा विपरीत हुने गरी इस्कोनले कुनै पनि कार्य नगर्ने पनि समझदारी पत्रमा जनाइएको छ ।
नगरपालिका भित्रका छाडा गाईहरुको स्याहार–सुसार, उपचार तथा गाईहरुको हित रक्षार्थ एवं इस्कोनका विभिन्न प्रवद्र्धनात्मक क्रियाकलाप संचालनका लागि नगरपालिकाको वाड नं. १४ मा रहेको सार्वजनिक जग्गा नगर कार्यपालिकाको निर्णय बमोजिम लिजमा इस्कोनलाई उपलब्ध गराउने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ । गौशाला संचालनको कार्ययोजना लगायतका अन्य सान्दर्भिक विषय समेटिएको संचालन रणनीति पत्र एक हप्ता भित्र नगरपालिकामा इस्कोनले पेश गर्नु पर्ने समझदारी समेत कायम भएको छ ।
सरोकारवालाहरुसँग छलफल गरी गौशाला व्यवस्थापनमा इस्कोनसँग सहकार्य गर्ने निष्कर्षमा तिलोत्तमा नगरपालिका पुगेको हो । नगरपालिकाले गत जेठ २० गते आयोजना गरेको छलफलमा राजनीतिक दल, गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता समूहका पदाधिकारीहरुले गौशाला व्यवस्थापनको जिम्मा इस्कोनलाई दिन नगरपालिकालाई सुझाव दिएका थिए ।
गौशालालाई अहिलेकै अवस्थामा धेरै समय चलाउन नसकिने निष्कर्ष उनीहरुले निकालेका थिए ।
इस्कोनलाई विद्यमान गौशाला व्यवस्थापनसँगै वैदिक शिक्षा, स्वास्थ्यका कार्यक्रमहरु समेत सँगसँगै सञ्चालन गर्नेगरी वडा नं. १४ मा जग्गा व्यवस्थापन गर्ने समझदारी भएको हो । इस्कोनले पर्याप्त जमिन भए मात्र गौशालाको आधुनिक व्यवस्थापन गर्न सकिने जनाउँदै आएको छ । चार बिगाहा क्षेत्रफल चर्चेको गौशाला नियमित आर्थिक स्रोत अभावका कारण व्यवस्थित हुन सकेको छैन ।
तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले गौशालाको नयाँ व्यवस्थापनले अहिले देखिएका समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो । गौशालालाई व्यवस्थित गरेर नमूना बनाउनुपर्नेमा जोड दिँदै उहाँले घरमा पालिएका चौपाया छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गराउन नगरपालिकाले कार्यविधि बनाएको जानकारी गराउनुभयो ।
गौशाला व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले व्यवस्थित रुपमा गौशालालाई अघि बढाउन सञ्चालनको जिम्मेवारी इस्कोनलाई दिने वातावरण निर्माण गरिएकोमा आभार व्यक्त गर्दै गौशाला व्यवस्थापनमा आगामी दिनमा पनि स्थानीय समाज, संघ–संस्था, व्यक्तिहरुले उत्तिकै सहयोग गर्ने उल्लेख गर्नुभयो । यस्तै पत्रिदास प्रभुले गौमाता भगवानका लागि सबैभन्दा प्रिय रहेको उल्लेख गर्दै सबैको सहयोगबाट गौशालालाई गर्व गर्न लायक बनाउने उल्लेख गर्नुभयो । उहाँले गौमाता खुशी हुँदा सबैको हित हुने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले इस्कोनलाई व्यवस्थापको जिम्मा दिएर नगरपालिकाका गौशालाबाट पूर्णरुपमा उम्किन नखोजेको प्रष्टाउनुभयो ।
उप–प्रमुख जागेश्वरी चौधरी, नेकपाका नेता लक्ष्मण खनाल, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, करहिया र शंकरनगर सामुदायिक वनका प्रतिनिधि, तिलोत्तमा नगर कार्यपालिका सदस्यहरु समेतको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन प्रवक्ता सुरेन्द्र श्रीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here