मानसिक स्वास्थ्य दिवसमा सचेतना -याली

0
582

तिलोत्तमा, असोज २४ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बुधबार बुटवलमा सचेतना -याली निकालिएको छ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । बुटवलमा तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पताल, चौतारी नेपल हेल्थ फाउण्डेशन नेपाल, लालीगुराँस फार्मेसीलगायतका संघ–संस्थाहरुको संयुक्त पहलमा प्रभातफेरी आयोजना गरिएको हो ।
प्रभावतफेरीमा चिकित्सक तथा स्वास्थ्यकर्मी, स्वास्थ्य शिक्षण संस्थाका विद्यार्थी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । प्रभातफेरीका सहभागीहरुले ‘समयमा उपचार गरेमा मानसिक रोग निको हुन सक्छ’, ‘मानसिक रोगीलाई अपमान होइन सम्मान गरौं’, ‘तनावपूर्ण जीवनशैलीका कारण मानसिक रोग लाग्न सक्छ’, ‘मानसिक रोग सरुवा रोग होइन’, ‘लागुऔषध र मद्यपानले मानसिक रोग निम्त्याउँछ’, ‘मानसिक रोग भूतप्रेतले लाग्ने रोग होइन’, ‘लामो समयसम्म टाउको दुखिरहेमा मानसिक रोग हुनसक्छ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
राजमार्ग चौराहाबाट सुरु भएको प्रभातफेरी पुष्पलाल पार्कमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा क्रिमसन अस्पतालका अध्यक्ष लक्ष्मण ज्ञवाली, डा. मनोज ढुंगाना, डा. सन्दिप सुवेदी, डा. विक्रम काफ्लेलगायतले मानसिक रोगको विद्यमान अवस्था र मानसिक रोगबाट बच्ने उपायका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन विमल ढकालले गर्नु भएको हो ।
मानसिक स्वास्थ्यलाई राम्रो बनाउनका लागि यो क्षेत्रमा कार्यरत सबै पक्षबिच सहकार्यको खाँचो रहेको र यसका लागि दिवसले पहल गर्ने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओले सन् २०१३ देखि २०२० सम्मका लागि बनाएको मानसिक स्वास्थ्य कार्य योजना अन्तर्गत अहिले विश्वभर विभिन्न काम हुँदै आइरहेका छन् । नेपालमा नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको छ । मानसिक स्वास्थ्य सेवाको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको सरहकारी तथ्यांक छ ।
पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति ४० प्रतिशत रहेकोमा तीमध्ये कति जना मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् भन्ने यकिन तथ्याङ्क कुनै निकायसँग छैन ।
डब्लुएचओले नेपालमा करिब २२ लाख यो समूहका व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको प्रक्षेपण गरेको छ । डब्लुएचओका अनुसार चारमध्ये एक युवा र पाँचमध्ये एक बालबालिका कुनै न कुनै मानसिक स्वास्थ्य समस्यबाट पीडित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here