एक सय नयाँ पर्यटकीय गन्तव्यमा परे तिलोत्तमाका दुई क्षेत्र

0
374

तिलोत्तमा, कार्तिक १७ । सरकारले पहिचान गरेका मुलुकभरिका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा तिलोत्तमा नगरपालिकाका दुई वटा पर्यटकीय क्षेत्र परेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो ।
यसरी सार्वजनिक गरिएका नयाँ पर्यटकीय गन्तव्यको सूचीमा तिलोत्तमाको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) र तिलोत्तमा नगरपालिका समेतमा पर्ने बाउन्नकोटी सामुदायिक वन रहेका छन् । वाउन्नकोटी सामुदायिक वन साविकका चिल्हिया, मधवलिया, टिकुलिगढ र पड्सरी गाविसमा पर्दछ । तिलोत्तमा साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलिगढ गाविस मिलेर बनेको नगरपालिका हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारबाट घोषित आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यको बुँदा नम्बर ११४ मा नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने उल्लेख भएअनुसार मन्त्रिस्तरीय निर्णयबाट नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएको उल्लेख छ ।
सूचीमा उल्लेखित नयाँ पर्यटकीय गन्तव्यहरुलाई चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बाँडफाँड गरिने पनि विज्ञप्तिमा जनाइएको छ । पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत् तिलोत्तमाका दुई पर्यटकीय क्षेत्र सूचीकृत भएकोमा तिलोत्तमाबासीले खुशी व्यक्त गरेका छन् ।
नगरका दुई स्थान नयाँ पर्यटकीय स्थलमा छनौट भएकोमा सबैलाई उत्साहित बनाएको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । सार्वजनिक सूचना, अध्ययन र विज्ञको सुझावका आधारमा नयाँ पर्यटकीय क्षेत्र सूचीकृत गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताउनुभयो । छनोट भएका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैंयाँ विनियोजन गरिएको बताइन्छ ।

वन वाटिकामा कति आउँछन् पर्यटक ?
वनवाटिकामा गत वर्ष झण्डै डेढ लाख आन्तरिक तथा बाहय पर्यटक अवलोलन तथा भ्रमणका लागि आएका थिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब १ किमिभित्र घना बस्तीछेउ शंकरनगर सामुदायिक वन छ । यहीँ वनको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वृक्षरोपण क्षेत्रलाई २०६२ वर्षअघिदेखि व्यवस्थित गरी वन विहार तथा अनुसन्धान केन्द्र बनाइएको हो ।
केन्द्रमा चिडियाखाना, जडीबुटी अनुसन्धान केन्द्र, योग केन्द्र, बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, बाल उद्यान, पार्क, पिकनिक स्थल, सभास्थललगायत बनाइएको छ । पर्यटकले प्रत्यक्ष अवलोकन गर्न सक्ने गरी चिडियाखाना व्यवस्थित गरिएको छ । चितुवा, मृग, नीलगाई, अजिंगर, भालु, खरायो, चाइनिज मुसा, मयूर सारसलगायत दुई दर्जन प्रजातिका पशुपक्षी संरक्षित छन् । रमणीय पार्क र चिडियाखाना रहेको वाटिकामा वनभोज खान र घुम्न आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् ।
विवाह, वनभोज, शुभकार्य र सांगीतिक कार्यक्रमका लागि आउनेको संख्या धेरै छ । साँझ–बिहान योग तथा ध्यान गर्न जानेको दिनहँु लर्को लाग्छ । यहाँ रहेका विभिन्न जनावर तथा जैविक विविधताको अध्ययन र अनुसन्धान गर्न आउने पर्यटक संख्या पनि बढेको छ । शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा अहिले तिलोत्तमा भ्यूटावरको निर्माण तीव्र गतिमा भैरहेको छ ।
के छ बाउन्नकोटी सामुदायिक वनमा ?
सरकारले नयाँ पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेको बाउन्नकोटी सामुदायिक वन जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यहाँ टिक जातिको वनस्पतिको जंगल छ । सिमसार यहाँको प्रमुख विशेषता हो । नन्दभाउजु ताल यहीँ रहेको छ । एक सय ५७ दशमलव ७५ हेक्टर क्षेत्रफल रहेको यो वनका उपभोक्ताहरु झण्डै ६ हजार छन् । यो वनमा मन्दिर, पिकनिक स्पर्ट, गौशालालगायतका केही संरचनाहरु बनेका छन् ।
यहाँ कोटिहवा वा लखन थापा चोकबाट पश्चिमबाट सहजै पुग्न सकिन्छ । यो क्षेत्रको विकास गरी लुम्बिनी आएका पर्यटकलाई यहाँसम्म ल्याउन सकेमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सरोकारवालाहरु बताउँछन् । हालसम्म यहाँ पर्यटन प्रवद्र्धनका सबै काम बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहबाट हुँदै आएको वन उपभोक्ता समूहका अध्यक्ष भोला यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here