‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ अभियानलाई समावेशीको साथ, सेयर सदस्यलाई कपडाको झोला वितरण

0
427

तिलोत्तमा, कार्तिक १७ । रुपन्देहीको तिलोत्तमा–७, भलबारी स्थित समावेशी बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद सुवेदीको अध्यक्षता तथा संस्थाका सल्लाहकार समिति संयोजक एवं क्रिमसन अस्पताल मणिग्रामका अध्यक्ष लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष सुवेदीले चालू आर्थिक वर्षमा सदस्यता विस्तार तथा लगानीको क्षेत्रलाई थप फराकिलो बनाइने जानकारी गराउनुभयो । सहकारीले कृषि कर्जा प्रवाहमा व्याज दर कम गराएको उल्लेख गर्दै उहाँले सामाजिक उत्तरदाहित्वका कामलाई उत्तिकै महत्व दिइएको उल्लेख गर्नुभयो ।
यस्तै प्रमुख अतिथि ज्ञवालीले सहकारीले अब उत्पादनमूलक क्षेत्रमा लगानीलाई केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो । पूँजी निर्माणमा सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उहाँले अब सहकारीले पूँजीको व्यवस्थित परिचालन गर्नुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा नेफस्कुनका केन्द्रीय सदस्य कृष्णप्रसाद नेपाल, सल्लाहकार रामचन्द्र ढकाल, संस्थाका निवर्तमान अध्यक्ष देवानन्द पाण्डे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारी, व्यवस्थापक टेकनाथ कोइरालालगायतले सहकारीको आगामी कार्यदिशाका बारेमा आ–आफ्ना भनाइ राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष हेमराज पौडेलको स्वागत तथा सचिव ऋषिराम भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा लेखा समिति सदस्य अच्युतराज ज्ञवालीले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । सो अवसरमा संस्थालाई सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।
सेयर सदस्यलाई कपडाको झोला वितरण
यसैबीच समावेशी बचत तथा ऋण सहकारी संस्थाले तिलोत्तमा नगरपालिकाले अघि सारेको ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ को नारालाई साथ दिँदै आफ्ना सेयर सदस्यहरुलाई कपडाको झोला वितरण गरेको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको प्लाष्टिक झोला निषेधित अभियानलाई साथ दिँदै सहकारीले आफ्ना सबै सेयर सदस्यहरुलाई झोला वितरण गरेको हो । सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद सुवेदीले नगरपालिकाले सुरु गरेको प्लाष्टिक झोला निषेधित अभियान अत्यन्त सकारात्मक रहेकाले आफ्ना सेयर सदस्यहरुको मागबमोजिम कपडाको झोला वितरण गरिएको बताउनुभयो ।
सहकारीले निकै आर्षक र बलियो झोला ११ औं साधारणसभाको अवसरमा शनिबार सदस्य र अतिथिहरुलाई उपलब्ध गराएको हो । अध्यक्ष सुवेदीका अनुसार एक झोलाको मूल्य एक सय पचास रुपैंयाँ छ । पहिलो चरणमा पाँच सय झोला वितरण गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । दश किलोसम्म अट्ने झोला बजारमा किनमेलका लागि अत्यन्त उपयोगीका साथै मोटरसाइकलको लेगार्डमा समेत लिएर हिँड्न मिल्ने सहकारीका सदस्यसमेत रहेका तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो ।
सहकारीले आफ्नो साधारणसभा तिलोत्तमा नगरपालिकाले जारी गरेको सार्वजनिक महत्वको कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ अनुसार सम्पन्न गरेको छ । निर्देशिकाअनुसार कार्यक्रम तोकिएकैं समयमा सुरु भएको थियो भने अतिथिहरुका लागि खादाको सट्टा फूलको गुच्छाबाट स्वागत गरिएको थियो । यस्तै वक्ताहरु पनि सीमित राखिएको थियो । कार्यक्रमलाई छिटो छरितो रुपमा सम्पन्न गरी उपलब्धिमुलक बनाउने सन्दर्भमा नगरपालिकाको निर्देशिका पालना गर्नुपर्नेमा सहभागीहरुले जोड दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here