डेंगु ज्वरोबाट बच्न के गर्ने ?

0
73

तिलोत्तमा, कार्तिक १८ । कार्तिकदेखि मंसिरसम्म डेंगु रोगको जोखिम बढी रहने भएकाले यो समयमा बढी सावधानी अपनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । केही वर्षअघि महामारीको रुप लिएको डेंगु रोगबाट यो वर्ष हालसम्म रुपन्देहीमा ५५ जना प्रभावित भैसकेका छन् । प्रभावितहरु मध्ये सबैभन्दा बढी बुटवल र त्यस आसपासमा रहेका नगरपालिकाका बासिन्दा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
सहरी क्षेत्रमा बढी देखिने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोग भाईरल ज्वरोको रुपमा देखापर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । जनस्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले एडिस एजिप्टाई नामक लामखुट्टेको प्रजनन क्षमता फोहोर पानीमा भन्दा सफा पानीमा क्रियाशिल हुने भएकाले यो रोगको जोखिम सहरी क्षेत्रमा बढी हुने गरेको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाले आइतबार जनप्रतिनिधि र स्वास्थ्य संस्थाका प्रमुखहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै भेक्टर कन्ट्रोल निरीक्षक साहले वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले फुल पार्ने बताउनुभयो ।
वर्षायाम सकिएपछि यस्ता बस्तुहरुमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले यो रोगको जोखिम सेप्टेम्बरदेखि नोभेम्बरसम्म उच्च रहने हुँदा यो अवधिमा बढी सर्तकता अपनाउनुपर्ने उहाँको भनाइ छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक केयर सिं गोदारले डेंगु सार्ने लामखुट्टेलेले उज्ज्यालो समयमा टोक्ने बताउँदै लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा बढी श्रेयकर हुने उल्लेख गर्नुभयो ।
तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा संयोजक काशिनाथ बञ्जाडेले एडिस एजिप्टाई लामखुट्टे कालो रङ्गको हुने र त्यसमा सेतो थोप्लो पनि देखिने बताउनुभयो । डेङ्गु लगिसकेपछि बिरामीको टाउको असाध्यै दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू देखा पर्नें उहाँले जानकारी दिनुभयो ।
उहाँले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्नेमा जोड दिनुभयो । एडीस जातको लामखुट्टेको वृद्धि रोक्न पानी जम्न सक्ने भाँडाहरू गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, टायरहरूमा पानी जम्न दिनु नहुने उहाँले बताउनुभयो ।
यस्तै पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने गरेमा लामखुट्टेले फुलपार्न नसक्ने उहाँले जानकारी दिनुभयो ।
यसैबीच तिलोत्तमा नगरपालिकाले डेङ्गु रोग सम्बन्धी सचेतना अभिवृद्धिका लागि सोमबारबाट अभियान सुरु गर्दैछ । मूलतः बढी सहरीकरण भएका वडा नं. १–४ लाई लक्षित गरेर अभियान चलाइने स्वास्थ्य शाखाले जनाएको छ । सोमबार शंकरनगर चोकबाट अभियान चलाइने र स्वास्थ्य स्वयमं्सेविकाहरुले घर–घरमा पुगेर डेङ्गु रोगको बारेमा जानकारी गराइने स्वास्थ्य संयोजक बञ्जाडेले बताउनुभयो । स्वास्थ्य शाखाले डेङ्गु ज्वरोका बारेमा सचेतना अभिवृद्धिका लागि पर्चा समेत वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here