घाइते व्यक्तिको पहिचान खुलेन

0
695

तिलोत्तमा, कार्तिक २० । गत बिहिबार राती बुटवल नयाँ बसपार्कमा गाडीसँग ठोक्किएर घाइते भएका एक युवकको पहिचान नखुल्दा सम्बन्धित परिवारलाई जिम्मा लगाउन समस्या भएको छ । ती युवा डिभाइडरबाट सडकमा हाम फाल्दा देविलाल श्रेष्ठले चलाएको लु २ च ४२३७ नम्बरको गाडीमा ठोक्किएर घाइते भएका थिए । उनको तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भैरहेको छ ।
उनको उपचारको सम्पूर्ण जिम्मेवारी गाडी मालिक प्रदीप श्रेष्ठले लिएका छन् । ‘उपचारमा कुनै कसर बाँकी राखेका छैनौं । तर घाइतेले आफन्तको नाम, मोबाइल नम्बर, आफ्नो घर, ठेगाना बताउन नसक्दा समस्या भयो ।’ श्रेष्ठले भने ।
घाइते ती युवाले घर कपिलबस्तु र नाम शिव पाण्डे बताउने गरे पनि थप विवरण खुलाउन सकेका छैनन् । अन्दाजी २७÷२८ वर्षिय युवकले थप केही कुरा नबताउन नसक्दा आफन्तको जिम्मा लगाउन समस्या भएको हो । अस्पतालमा भर्ना गरिएका ति युवकलाई कसैले केही कुरा सोधेमा छोटो जवाफ दिने र बोल्दा बोल्दै टोलाउने गरेको अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिए ।
श्रेष्ठले घाइते व्यक्तिले बताएको कपिलबस्तुमा उनका आफन्त खोज्ने प्रयत्न गरिए पनि सफल नभएको बताए । अस्पतालले घाइतेलाई डिष्चार्च गर्ने तयारी गरेको बताइन्छ । उनको औषधी उपचारको प्रकृया सकिएपछि कस्को जिम्मा लगाउने भन्ने अन्योल रहेको श्रेष्ठले बताए । उनले यसमा सहयोग पुर्याउन सम्बद्ध सबैलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here