एउटै उद्देश्यका साथ हिँडौं देशको मुहार फेर्न धेरै वर्ष लाग्दैन ः नेता भुसाल

0
179

तिलोत्तमा, कार्तिक २४ । नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले माथिदेखि तलसम्मका नेता÷कार्यकर्ताहरु एउटै उद्देश्यका साथ हिंड्ने हो भने देशको मुहार फेर्न धेरै वर्ष नलाग्ने बताउनु भएको छ । पार्टीको तिलोत्तमा वडा नं. ७ ले शनिबार भलबारीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता भुसालले एउटै उद्देश्यका साथ पार्टीपंक्ति लाग्दा सात वर्षमा काम गर्न सक्ने व्यक्तिलाई सहज जीवनयापन हुनेगरी रोजगारी दिन सकिने बताउनुभयो । काम गर्न सक्ने सबै व्यक्तिलाई रोजगारी र नसक्नेहरुलाई सामाजिक सुरक्षा दिन सक्दा मुलुकको मुहार फेरिने नेता भुसालको भनाइ छ ।
विश्वकैं एक सय वर्षको कम्युनिष्ट ईतिहासमा नेपालमा पहिलो पटक चुनावबाट आएको सबैभन्दा बलियो कम्युनिष्ट पार्टी र सरकार बनेको उल्लेख गर्दै नेता भुसालले यो ऐतिहासिक अवसरलाई सबै मिलेर सदुपयोग गर्नुपर्ने बताउनुभयो । विगतका कमिकमजोरीबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताउँदै नेता भुसालले पार्टीलाई विकासको संगठन बनाउँदा मात्र समृद्धिको सपना पूरा हुने प्रष्टाउनुभयो । फरक प्रसंगमा नेता भुसालले छठ पर्वपछि पार्टी एकताको बाँकी काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । पार्टी एकता तल्लो तहसम्म पूरा नहुँदा कार्यकर्ताहरुमा केही अलमल रहनु स्वभाविक रहेको चर्चा गर्दै नेता भुसालले कार्यकर्तालाई धैर्य गर्न आग्रह गर्नुभयो ।
नेताहरुले गरेका गल्ती कमजोरीहरुलाई कार्यकर्ताले आफ्नो ठाउँबाट सच्चाइदिनुपर्ने उल्लेख गर्दै नेता भुसालले समस्याको बेला नआत्तिने, छलफल गर्ने र आवश्यक पहलकदपी लिनुपर्ने उल्लेख गर्नुभयो । सोही अवसरमा अर्का नेता छविलाल विश्वकर्माले पार्टी एकता तल्लो तहसम्म भैनसके पनि कार्यकर्ताहरु खुम्चिएर बस्न नहुने बताउनुभयो । पार्टी एकता विभिन्न कारणले अपेक्षा गरेअनुसार तोकिएकैं समयमा पूरा नभएको बताउँदै उहाँले अब पार्टी एकताको काम तीव्रताका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय, प्रदेश र संघीय सरकार आफ्नै पार्टीको नेतृत्वमा रहेको बेला विकास र समृद्धिको अभिलाषालाई पूरा गर्ने युगिन दायित्व रहेको बताउँदै उहाँले यो दायित्वलाई सबै मिलेरा पूरा गर्नुपर्ने बताउनुभयो । अब एकले अर्कोलाई दोष लगाउने अवस्था नरहेको चर्चा गर्दै नेता विश्वकर्माले स्थानीय, प्रदेश र संघीय सरकारले मिलेर विकासको अभियानलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
समाजको आर्थिक, सामाजिक रुपान्तरण गर्ने यो ऐतिहास अवसरलाई सदुपयोग गर्ने दायित्व पार्टीका सबै नेता÷कार्यकर्ताको रहेको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला नेताहरु अनुप बराल, जागेश्वरी चौधरीलगायतले बोल्नुभएको थियो । देवि पंगेनीको अध्यक्षता, राजेन्द्र सुवेदीको स्वागत र सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here