तिलोत्तमामा सरसफाइ अभियान २९ औं शृंखलामा, अभियानलाई आफ्नो मानेर सबै सरसफाइमा जुटौं ः मन्त्री गिरी

0
136

तिलोत्तमा, मंसिर १५ । तिलोत्तमा नगरपालिकामा सञ्चालन हुँदै आएको समुदायमा आधारित सरसफाइ अभियानको २९ औं शृंखला शनिबार वडा नं. १ मा सम्पन्न भएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा भएको सरसफाइ कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरीलगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास, बैंक, वित्तीय संस्था, विद्यालय, आमा समूह, क्लवलगायतको सहभागिता रहेको थियो । वडाबासीहरु शिवचोक स्थित वडा कार्यालय परिसरमा जुटेर आ—आफ्नो घर तथा टोल सरसफाइमा जुटेका थिए ।
कार्यक्रममा मन्त्री लिला गिरीले अभियानलाई सबैले आफ्नो मानेर नियमित रुपमा घर, आँगन, सडक सफा गर्दा नगर सधैं सफा रहने उल्लेख गर्नुभयो । अभियान सञ्चालन गरेर सरसफाइ सचेतना बढाउने काम गरेकोमा प्रशंसा गर्दै मन्त्री गिरीले निकट भविष्यमा बन्ने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी सरसफाइ र हरियाली प्रवद्र्धनका कामलाई अघि बढाउन नगरपालिकालाई सुझाव दिनुभयो ।
यस्तै नगरप्रमुख बासुदेव घिमिरेले सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियानका सहभागीप्रति आभार व्यक्त गर्दै सबैले सहयोग र समन्वयबाट नगरलाई सफा र स्वच्छ राख्न सकिने उल्लेख गर्नुभयो । मानव स्वास्थ्य, वातावरण र सहरी सौन्दर्यमा नकारात्मक असर पारेकाले नगरपालिकाले प्लाष्टिक झोला निषेध अभियान सञ्चालन गरेको बताउँदै नगर प्रमुख घिमिरेले प्लाष्टिक झोला, कप, प्लेट र चम्चाको प्रयोग नगर्न नगरबासीलाई आग्रह गर्नुभयो । नगर प्रमुख घिमिरेले अब प्लाष्टिक झोला निषेधित अभियानलाई प्रभावकारी बनाउन बजार अनुगमनमा तीव्रता ल्याइने उल्लेख समेत गर्नुभयो ।
कार्यक्रममा सरसफाइ र हरियाली प्रवद्र्धन सचेतना बोर्डहरु टोल विकास संस्थालाई हस्तान्तरण गरिएको थियो । तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधिहरु आएलगत्तै गत वर्षबाट ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ सरसफाइ र हरियाली प्रवद्र्धन अभियान सुरु भएको थियो ।
नगरपालिकाले हरेक महिनाको १ र १५ गते यो अभियान सञ्चालन गर्दै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरुले अन्य दिनहरुमा समेत सरसफाइ र हरियाली प्रवद्र्धनका कामहरु गर्दै आएका छन् । शनिबार २९ औं शृंखलाको अवसरमा अन्य वडाहरुमा समेत सरसफाइ गरिएको छ । सरसफाइ अभियन्ताहरुले घरमा उत्पादित फोहोर घरमैं व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै सरसफाइ अभियानको स्वमित्व सबै व्यक्ति, परिवार र समुदायले लिनुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here