तिलोत्तमाको दल्कामा शहरी स्वास्थ्य केन्द्र भवन शिलन्यास

0
414

तिलोत्तमा, मंसिर २० । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ दल्कामा निर्माण हुने शहरी स्वास्थ्य केन्द्र भवनको शिलन्यास गरिएको छ । सात कोठा रहने एक तले सो भवन ८५ लाख रुपैंयाँको लागतमा बन्ने जनाइएको छ । भवनको एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरेले शिलन्यास गर्नुभयो ।
आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको सो भवन निर्माणको ठेक्का कृष्ण निर्माण सेवाले पाएको छ । भवन निर्माणपछि सामान्य चिकित्सा सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, खोप तथा पोषण सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।
२०७४ असोजदेखि वडा नं. ७ भलबारीमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ । झण्डै सात कठ्ठा क्षेत्रफलमा स्वास्थ्य केन्द्र निर्माणको काम अघि बढेको हो । शिलन्यास कार्यक्रममा नगर प्रमुख घिमिरेले भवन निर्माणपछि स्थानीय बासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकामा रहेका सरकारी स्वास्थ्य केन्द्रलाई थप प्रभावकारी बनाउने काममा नगरपालिका क्रियाशील रहेको जनाउँदै नगर प्रमुख घिमिरेले सरकारी स्वास्थ्य सेवाबाट प्राप्त हुने सेवाबाट लाभान्वित हुन नगरबासीलाई आग्रह गर्नुभयो ।
वडाध्यक्ष दुर्गा प्रसाद पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरी, जिल्ला समन्वय समिति सदस्य जमुना लम्साल, नगर प्रवक्ता सुरेन्द्र श्री, स्वास्थ्य इकाई प्रमुख काशिनाथ बञ्जाडेलगायतले बोल्नुभएको थियो । राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरु समेत उपस्थित सो कार्यक्रममा केन्द्र सञ्चालक समितिका उपाध्यक्ष राजेन्द्र सुवेदीको स्वागत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here