मापदण्ड पूरा नगरेका पानी उद्योगमा शिलबन्दी

0
252

उत्पादनमा रोक
बुटवल, पुस १३ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने पानी उत्पादक उद्योगमा शिलबन्दी गरेको छ । निर्देशिकाअनुसार बोतल पानी उत्पादनमा बोतलको वासिङ, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्छ ।
प्रशोधित पानीको गुणस्तर सुधार्न कृषि मन्त्रालयले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गर्दै नयाँ निर्देशिका जारी गरेको थियो । सो निर्देशिका कार्यान्वयन नगर्ने रुपन्देहीका थप दुई पानी उद्योगलाई कार्यालयले शुक्रबार बन्द गराएको छ ।
कार्यालयले यसअघि सात वटा कम्पनीमा शिलबन्दी गरेको थियो । शिलबन्दी गरिएका उद्योगलाई बोतलको पानी उत्पादनमा रोक लगाइएको छ । शुक्रबार सिद्धार्थनगर नगरपालिका वडा नं. ४, एयरपोर्ट स्थित भैरव ड्रिङकिङ वाटर र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३ स्थित न्यू क्वालिटी कोल्ड वाटरमा शिलबन्दी गरिएको हो । भैरवलाई बोत्तल र न्यू क्वालिटीलाई बोत्तल तथा जार दुवै पानी उत्पादनमा रोक लगाइएको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी वैकुण्ठप्रसाद सापकोटा, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्तबहादुर राई, वाणिज्य कार्यालयका प्रमुख बेदप्रकाश उपाध्याय, खाद्य निरीक्षक श्रवणकुमार ढुंगाना, असई चन्द्रप्रसाद चौधरीलगायत सम्मिलित अनुगमन समितिले ती दुई उद्योगलाई शिलबन्दी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सापकोटाले मापदण्ड पूरा नगरेका, अनुज्ञापत्र नलिएका उद्योगलाई सम्बन्धित कार्यालयले कारवाही प्रक्रिया अघि बढाएको बताए । यस्तै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राईले बाँकी पानी उद्योगहरुमा क्रमशः अनुगमन गरिने जानकारी दिए ।
निर्देशिकाअनुसार स्वचालित मेशिन नराख्ने उद्योगले बोतलको पानी उत्पादन गर्न पाउँदैनन् । उनीहरुको अनुज्ञापत्र समेत नवीकरण नहुने खाद्य निरीक्षक ढुंगानाले बताए । रुपन्देहीमा रहेका ३० मध्ये ८ उद्योगले मात्र मापदण्ड पूरा गरी स्वचालित मेसिनबाट बोत्तलको पानी उत्पादन गर्दै आएका छन् ।
निर्देशिकाको बारेमा उद्योगीलाई जानकारी गराएर स्वचालित प्लान्टलगायतका पूर्वाधार निर्माण गर्न दिइएको समयसीमा सकिएपछि कार्यालयले अनुगमन गरी ती उद्योगमा शिलबन्दी गरेको हो । सरकारले जार र बोतलमा सिलप्याक भएर आउने प्रशोधित पानीको गुणस्तर कायम गर्न खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को ‘क’ बमोजिम नयाँ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ जारी गरेको थियो ।
कतिपयले सुरुबाटै स्वचालित प्लान्ट जडान गरेकोमा कतिपयले निर्देशिका जारी भएपछि प्लान्ट थपेर बजारमा पानी पठाएका छन् । तर सबै उद्योगमा अनुगमन हुन सक्दा कतिपयले हातैले बोतलमा पानी भरेर बजारमा पठाउने गरेका छन् । मानव स्वास्थ्यमा पानीको महत्वपूर्ण भूमिका रहनेभएकाले यसको अनुगमनलाई प्रभावकारी बनाइने कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here