दुग्ध पदार्थको गुणस्तर कायम गराउन नयाँ निर्देशिका

0
359

बीपी गौतम
बुटवल । सरकारले दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर कायम गराउन नयाँ निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जारी गरेको निर्देशिका चैतपछि कार्यान्वयनमा आउने छ । न्यून गुणस्तरको दूध बिक्री गरेर उपभोक्ता ठगिएको गुनासो आएपछि मन्त्रालयले खाद्य ऐन–२०२३, खाद्य नियमावली–२०२७ अनुसार निर्देशिका जारी गरेको हो । निर्देशिकाको पालना दुध तथा दुग्धजन्य पदार्थको उत्पादक, संकलक, चिस्यान केन्द्र सञ्चालक, प्रशोधन, भण्डारन, ढुवानी तथा बिक्री–वितरण गर्नेहरुले पालन गर्नुपर्नेछ ।
उत्पादनदेखि उपभोक्तासम्म दूधको मापदण्ड तोकेर सुधारको प्रयास सुरु गरिएको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताउनुभयो । निर्देशिकाअनुसार स्वस्थ जनावरबाट सजिलै सफा गर्न सकिने स्टेलनेस स्टिल वा आल्मुनियमको भाँडोमा दुहुनुपर्छ । दुध संकलन भएको दुई घण्टामा चिस्यान केन्द्र पुर्याउनुपर्ने, दुध उत्पादन तथा संकलन कार्य सफा राख्नुपर्छ । ‘निर्देशिकामा किसानदेखि बिक्रेतासम्म सबैको दायित्व तोकिएको छ,’ गत बिहीबार बुटवलमा दुध तथा दुग्ध व्यवसायीहरुका लागि निर्देशिकाको बारेमा जानकारी दिन आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा कर्णले भन्नुभयो, ‘निर्देशिका कार्यान्वयनमा आएपछि दूध बजार व्यवस्थित हुनेछ ।’
विभागले यसअघि पिउने पानीलाई गुणस्तरीय बनाउन ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ जारी गरेको थियो । निर्देशिका कार्यान्वयनमा आएसँगै मापदण्ड विपरीत पानी उत्पादन गर्ने उद्योगलाई सरकारले धमाधम कारवाही गरिरहेको छ । निर्देशिकाअनुसार बोतल पानी उत्पादनमा बोतलको वासिङ, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्छ । प्रशोधित पानी जस्तै दुध तथा दुग्ध उत्पादनको गुणस्तर सुधार्न विभागले असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।
निर्देशिकाले थुनेलो, क्षयरोगलगायत कुनै पनि संक्रामक रोग लागेका पशुबाट उत्पादित दुध बिक्री वितरणका लागि संकलन केन्द्र वा सहकारी संस्थामा लैजान रोक लगाएको छ । यस्तै गुणस्तर बिग्रेको, स्वाद बिग्रेको, फाटेको वा बिगौती दुध चिस्यान केन्द्र वा संकलन केन्द्रमा लैजान नपाइने पनि निर्देशिकामा उल्लेख छ । निर्देशिकामा दुधमा पानीलगायत अन्य वाह्य पदार्थको मिसावटलाई बन्देज गरिएको छ । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्तबहादुर राईले गुणस्तरीय दूध उपभोग गर्न पाउने उपभोक्ताको अधिकार निर्देशिकाले सुरक्षित गरेको बताउनुभयो । निर्देशिकाअनुसार बिहान दुहेको दूध बिहानै र बेलुकाको दूध बेलुकानै संकलन गर्ने व्यवस्था मिलाउनु पर्नेछ । संकलन केन्द्रमा दूध ढुवानीको लागि प्रयोग गरिएका भाँडा सफा राख्न पर्याप्त पानीको व्यवस्था गर्नु पर्नेछ । दूध उत्पादनको लागि स्थलगत रुपमा सरसफाइ गर्नु पर्नेछ ।
विभागले दूधलाई मात्र लक्ष्य गरेर पहिलोपटक निर्देशिका जारी गरेको जनाइएको छ । खाद्य निरीक्षक श्रवणकुमार ढुंगानाले निर्देशिकाले दुध संकलन केन्द्र, डेरी उद्योग सबैको मापदण्ड निर्धारण गरेको जानकारी दिनुभयो । संकलन केन्द्रले अल्कोहल, सिबिओ, सुगर, एसिडिटी टेस्टलगायत मिसावटको जाँच गरी स्वच्छ र गुणस्तरीय भएको यकिन भएपछिमात्र किसानबाट दूध खरिद गर्ने व्यवस्था मिलाउनु पर्नेछ । दूध घाम नपर्ने गरी ढाकेर राख्नुपर्ने, संकलन केन्द्र स्थानीय तथा सम्बन्धित निकायमा दर्ता गर्नुपर्ने छ ।
किसानबाट उत्पादन भई संकलन केन्द्रबाट चिस्यानमा आएको दूधलाई थप मापदण्ड तोकिएको छ । डेरी उद्योग सञ्चालन गर्न बाटो, बिजुली, पानी र ढल निकासको समुचित व्यवस्था हुनुपर्छ । दूधमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हुन सक्ने जोखिमका कारक तत्वहरु र प्रदूषण नहुने, गन्ध, धुँवा, धुलो, रसायन तथा जैविक प्रदूषणले असर नपार्ने ठाउँमा राख्नुपर्ने निर्दे्शिकामा उल्लेख छ । उद्योगमा काम गर्ने कामदारको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने, प्रशोधन क्षेत्रमा प्रवेश गर्नुपूर्व साबुन पानीले हात धुने, बुट, एप्रोन, मास्क र हेडनेट लगाएरमात्र प्रवेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here