तिलोत्तमामा बस्ती विकास तीव्र, दैनिक तीन नयाँ घर थपिँदै

0
618

तिलोत्तमा । रुपन्देहीमा विकासका ठूला पूर्वाधार निर्माण भैरहँदा जिल्लाको तिलोत्तमा नगरपालिकामा बस्ती विकास तीव्र रुपमा बढ्दै गएको पाइएको छ । यो जिल्लाका पूराना सहर बुटवल र भैरहवाबीचमा पर्ने नयाँ नगरपालिका हो । भूगोलका हिसाबले यो रुपन्देहीकैं मध्य भागमा अवस्थित छ । नगरपालिकाले हालै गरेको घरधुरी सर्वेक्षणअनुसार यहाँको जनसंख्या एक लाख पच्चिस हजार पुगेको छ । राष्ट्रिय जनगणना–२०६८ अनुसार यहाँको जनसंख्या एक लाख मात्र थियो ।
पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसरले यहाँ बसाईसराई गर्नेको चाप उच्च भएका हो । नगरपालिकाले यहाँ नयाँ–नयाँ योजना अघि सारेको छ । स्थानीय, प्रदेश र संघीय सरकारबाट यहाँ विकासका ठूला पूर्वाधारहरु यहाँ तीव्रतर रुपमा अघि बढेका छन् । प्रदेश राजधानी भएसँगै बुटवलमा रहेका सरकारी कार्यालयहरु समेत एकपछि अर्को यहाँ सर्न थालेका छन् । यी सबै कुराको प्रभाव बस्ती विकासमा देखिएको हो ।
यहाँ होटल, बैंक तथा वित्तीय संस्था, उद्योगधन्दा, कलकारखाना, सेवा उद्योग खुल्नेक्रम तीव्र छ । ‘तिलोत्तमा भर्जिन सिटी भएकाले यहाँको जनघनत्व बढ्दै गएको छ । नयाँ घर थपिने क्रम उच्च छ ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा भन्छन्– ‘यहाँ विकासका ठूला पूर्वाधार बनाउने पर्याप्त संभावनहरु पनि छन् ।’
नगरपालिकाले यहाँ चक्रपथ, प्रादेशिक बस टर्मिनल, सामुदायिक अस्पताल, कोल्डस्टोर, फोहोरमैला प्रशोधन केन्द्र, औद्योगिक ग्राम, खेलकुद मैदानलगायत विकासका विभिन्न पूर्वाधार अघि सारेको छ । यहाँ प्रदेश स्तरको मेडिकल कलेज पनि बन्दै छ । यहाँ पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, प्युठानलगायतका स्थानबाट मानिसहरु बसाइ सरेर आउने गरेका छन् । यी जिल्लाबाट विभिन्न प्रयोजनका लागि अस्थायी रुपमा बसोबास गर्नेहरुको संख्या पनि यहाँ बढ्दै गएको छ ।
दैनिक तीन नयाँ घर थपिँदै
नगरपालिकामा दैनिक सरदर तीन वटा नयाँ घरहरु थपिने गरेका छन् । नगरपालिकाको घरनक्सा शाखाले उपलब्ध गराएको घर नक्सा दर्ता संख्याले यस्तो देखाएको हो । नयाँ नगरपालिका भएकाले यहाँ अझै पनि घरहरु पूर्णतः नक्सा पासको प्रक्रियामा आउन सकेका छैनन् । नक्सा पासविना बनाइएको भत्काउने सम्मको अधिकार स्थानीय तहलाई छ । चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म यहाँ नयाँ ३ सय ५८ घर निर्माणका लागि नक्सा दर्ता भएका छन् । सोही अवधिमा २ सय १७ घरले निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् ।
यहाँ साउनमा ६८, भदौमा ८४, असोजमा १०२ र कार्तिकमा १०४ नयाँ घरको नक्सा पास प्रक्रियाका लागि दर्ता भएका छन् । यस्तै साउन, भदौ, असोज र कार्तिक महिनामा क्रमशः ७७, ४२, ५८ र ४० घर निर्माण सम्पन्न भएर घरधनीले प्रमाणपत्र लिएका छन् । ‘यस नगरपालिकमा सरदर दैनिक तीन वटा नयाँ घर नक्सा दर्ता हुने गरेको छन् ।’ नक्सा शाखा प्रमुख ईञ्जिनियर मनिष खनालले भने ।
यहाँ पुराना घरको नक्सा दर्ता नयाँको भन्दा झण्डै दोब्बर छ । नगरपालिका गठन हुनुभन्दा अघि निर्माण भएका घरहरु ‘पुरानो’ को रुपमा नक्सा पासका लागि दर्ता हुने गरेका छन् । यहाँ गत साउनदेखि कार्तिकसम्म ३ सय ३८ पुराना घरको नक्सा दर्ता भएको छ भने यहीँ अवधिमा १ हजार ३ सय ११ पुराना घरको नक्सा पास भएको छ । साउनमा १ सय ११, भदौंमा १ सय चार, असोजमा १ सय ६ र कार्तिकमा १७ पुराना घरको नक्सा दर्ता भएको हो भने क्रमशः ३७६, ४१७, ३४७ र १७१ पुराना घरको नक्सा पास भएको नक्सा शाखा प्रमुख ईञ्जिनियर खनालले जानकारी दिए । अहिले नगरपालिकाले पार्किङ सहितका घर बनाउन प्रोत्साहन गरिरहेको नगर प्रमुख उप–प्रमुख जगेश्वरदेवी चौधरीको भनाइ छ । नगरपालिका गठन भएपछि तिलोत्तमामा हालसम्म नयाँ÷पुराना ११ हजार ९ सय ४२ घरको नक्सा दर्ता भएकोमा ६ हजार ७ सय ४७ घरले सम्पन्नता प्रमाणपत्र प्राप्त गरेका छन् । गत आर्थिक वर्ष २०७४÷७५ मा मात्र यहाँ ५ हजार ८ सय ३३ नयाँ÷पुराना घरको नक्सा दर्ता हुँदा सोही अवधिमा २ हजार ५ सय ८७ घरले सम्पन्नता प्रमाणपत्र प्राप्त गरेका थिए ।
नक्सा पास प्रक्रियालाई सेवाग्राहीमैत्री बनाउन नगरपालिकाले वडा–वडामा पुगेर नक्सा पासको काम गरिरहेको छ । हरेक हप्ताको दुई दिन अर्थात् बिहीबार र शुक्रबार मात्र नक्सा शाखाको टोली कार्यालयमा रहने गरेको छ । बाँकी दिन शाखाका सबै कर्मचारीहरु फिल्डमा पुग्छन् । सेवाग्राहीहरुले पुराना घरको नक्सा पासको सबै काम वडा कार्यालयबाटैं प्राप्त गर्छन् । कर्मचारीहरु वडाबाटैं घरधनीको घरमा पुग्ने, घरको नापजाँच गर्ने काम गर्छन् ।
नगरपालिकाको यस्तो अभियानले सेवाग्राहीलाई सजिलो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here