तिलोत्तमा नगरपालिकाले थाल्यो नयाँ बजेटको तयारी

0
229

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि एक अर्व ३० करोड ४७ लाख ८५ हजार बराबरको बजेट ल्याउने भएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा आगामी बजेटको आकार सार्वजनिक गरिएको हो ।
नगरपालिकाले १७ वटा वडाहरुका लागि १४ करोड ६५ लाख ९० हजारको सिलिङ तोकेको छ । त्यस्तैगरी प्रशासनिक खर्च १८ करोड तीन लाख ८० हजार, समपुरक खर्च सात करोड, नगरस्तरीय योजना तथा कार्यक्रमतर्फ २१ करोड २२ लाख ६१ ह्जार प्रस्ताव गरिएको छ । त्यस्तै क्रमागत आयोजनाहरु कृषि, शिक्षा तर्फ २३ करोड ५५ लाख ७१ हजारको बजेट आकार तय गरिएको छ ।
पुर्वबजेट छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बजेटको अवधारणापत्र प्रस्तुत गर्दै नगर क्षेत्रको विकासका लागि समेट्नुपर्ने विषयमा विभिन्न क्षेत्रको सुझाव माग्नुभएको थियो । नगरपालिकाले तिलोत्तमा प्रादेशिक बसपार्क, तिलोत्तमा सिटि कलेज, तिलोत्तमा औद्योगिक क्षेत्र, तिलोत्तमा मासु प्रशोधन केन्द्र, अटोभिलेज, राष्ट्रिय खेलकुद मैदान, कृषि हाटबजार, सरसफाई केन्द्र, सार्वजनिक शौचालय, सहरी सेवा केन्द्र, तिलोत्तमा ढाक्रेबास एकीकृत पर्यटकीय क्षेत्र, रोहिणी पर्यटकीय क्षेत्र विकास आयोजना, प्रसुती गृह, दुग्ध व्यवसाय, मकै, गहुँ खेतीमा अनुदान जस्ता आयोजनाहरुको प्रस्ताव गरेको छ ।
कार्यक्रममा जनप्रतिनिधिहरु विभिन्न राजनीतिक दल, संघ संस्था, समाजका अगुवाहरुको सहभागिता रहेको थियो । सहभागीहरुले तिलोत्तमा नगरपालिका नमूना काम गर्दै अघि बढिरहेको बताउँदै थप विपन्न वर्ग लक्षित कार्यक्रम ल्याउन सुझाव दिएका थिए । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारका कामलाई नगरपालिकाले मुख्य प्राथमिकता दिएकोमा सहभागीहरुले प्रशंसा व्यक्त गरेका थिए । यस्तै रगतको सेवा शुल्क भुक्तान, पशु बीमामा अनुदानलगायतका कामलाई निरन्तरता दिन पनि सहभागीहरुले सुझाव दिएका छन् ।
त्यसक्रममा नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरीलगायतले सबैको सहयोगले नगरपालिकाले आर्थिक, सामाजिक रुपान्तरणका कामहरु अघि बढाएको बताउँदै सहभागीहरुले दिएका सुझावअनुसार अघि बढिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here