क्रिमसन अस्पतालमा डबल चेम्बर पेसमेकर सेवा

0
325

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा डबल चेम्बर पेसमेकरको सफल प्रत्यारोपण गरिएको छ । अस्पतालमा पहिलो पटक तिलोत्तमाका माकर गुप्ताको मुटुमा डबल चेम्बर पेसमेकर प्रत्यारोपण गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेले जानकारी दिनुभयो ।
बिरामीलाई छाती दुख्ने, स्यास्या हुने, चक्कर लाग्नेलगायतका समस्या देखिएका थिए । मुटुको इसिजीमा धड्कन कमजोर भएको पाइएपछि एन्जियोग्राफी गरिएकोमा तत्काल क्रोनरी नसाको शल्यक्रिया गर्नु नपर्ने देखिएकोमा पेसमेकर प्रत्यारोपण गरिएको हो ।
अस्पतालले धेरै मुटु रोगीमा सिङ्गल चेम्बर पेसमेकर प्रत्यारोपण गरे पनि डबल चेम्बर पेसमेकर पहिलो पटक प्रत्यारोपण गरिएको जनाएको छ । डा. दुवेकाअनुसार तुलनात्मक रुपमा केही खर्चिलो भए पनि दीर्घकालिन फाइदाका कारण बिरामीहरुलाई सिङ्गल भन्दा डबल चेम्बर पेसमेकर राख्न सल्लाह दिइन्छ । डा. दुवे नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित टोलीले दुई घण्टामा पेसमेकर प्रत्यारोपण गरेको हो ।
चिकित्सकका अनुसार डबल पेसमेकरमा मुटुको दुवै कोठालाई तार राखेर ब्याट्रीबाट चलाइन्छ । ‘यस्ले बिरामीलाई दीर्घकालीन रुपमा राम्रो गर्छ ।’ डा. दुवेले भन्नुभयो । आफ्नो गाउँघरमैं मुटु रोगको सम्पूर्ण सेवा उपलब्ध भएकोमा बिरामीका आफन्तले खुशी व्यक्त गरे ।
क्रिमसन अस्पतालले विभिन्न स्वास्थ्य सेवासँगै मुटु रोग सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दुवेले जानकारी दिनुभयो । क्रिमसनमा नेपाल सरकारले उपलब्ध गराउने विपन्न नागरिक औषधि उपचार सेवा पनि उपलब्ध छ । मुटुको एन्जियोप्लाष्टी तथा पेसकेमर जडान गर्नुपर्ने बिरामीले एक लाख रुपैंयाँ सम्मको छुट सुविधा प्राप्त गर्न सक्छन् । छोटो समयमा नैं हालसम्म क्रिमसन अस्पतालमा ६ सय जनाको मुटुको शल्यक्रिया गरिएको डा. दुवेले बताउनुभयो ।

किन राखिन्छ पेसमेकर ?
सामान्यतया मानिसहरुले मुटु धड्किएको सुन्छन् । यसरी मुटु धड्किन मुटुमा करेन्ट बग्नुपर्छ । मुटुमा करेन्ट बगेन भने मानिस बाँच्न सक्दैन । विभिन्न कारणले मुटुमा करेन्ट प्रवाह हुन सकेन भने मुटु बन्द हुन्छ । हृदायाघात भएका बिरामीहरुमा यो खतरा झन् बढी हुन्छ । जुनसुकै बेलामा पनि अचानक मुटुमा करेन्ट प्रवाह बन्द भएर मानिसको मृत्यु हुने खतरा रहन्छ । त्यही सम्भावित खतराबाट जोगाउन र मुटुमा आवश्यकता अनुसार करेन्ट प्रवाह गर्न पेसमेकर राख्ने गरिन्छ ।
पेसमेकर धातुको सानो यन्त्र हो जसमा ब्याट्री र विद्युतीय सर्किट हुन्छ र त्यसबाट एउटा विद्युतीय तार निकाली मुटुको कोठासम्म पुर्याउँन संभव बनाइएको हुन्छ । यो धातुको यन्त्र सानो कम्युटर जस्तो हुन्छ जसले मुटुको धड्कन पहिचान र निगरानी गरेको हुन्छ । मुटुको धड्कन कम हुँदा पेसमेकरले तुरुन्त थाहा पाउँछ र पूर्व निर्धा्रित गरेको गतिमा विद्युतिय करेन्ट निकाल्छ । मुटु सोही अनुरुप धड्कन्छ । आफ्नै मुटुको धड्कन ठिक भएको अवस्थामा पेसमेकर चुप लागेर बस्दछ ।
पेसमेकर दुई प्रकारका हुन्छन् । सिंगल च्याम्बर पेस मेकरमा दाँया अरिकल या भेन्ट्रिकलमा एउटा तार गएको हुन्छ र डबल च्याम्बर पेस मेकरमा दायाँ अरिकल र भेन्ट्रीकलमा एक वटा तार भएको हुन्छ । पेसमेकर राख्न बिरामीलाई बेहोस पार्नु पर्दैन । माथिल्लो छातिको भागमा छाला लाटो पार्ने सुई दिएर करिब दुई इञ्चको घाउ बनाई छालामुनि पेसमेकर ब्याट्री राखिन्छ । पेसमेकर तार हुँदै मुटुको कोठामा लगिन्छ र ब्याट्रीसँग जोडिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here