स्वर्गिय खातिको सल्लाह-‘तिमि डराउनुपर्छ के संग ? माखा संग’

0
157

लेख बहादुर खाती , सायद कसैका लागी पनि अपरिचित नाम होइन । २००८ सालबाट स्वास्थ्य सेवामा सर्मपित खाति रुपन्देहीमा मात्रै होइन सिंगो अञ्चलमै स्थापित नाम पनि हो । बुटवलको गोलपार्कमा २०३० सालमा खाती मेडिकल हल स्थापना गरेर स्वास्थ्य सेवामा सकृय लेख बाहादुर खाती जिवनको अन्तिम समय सम्म पनि उत्तिकै जोंस र हिम्मतका साथ काममा खटिरहनुभयो । उंहाले हजारौंको उपचार गर्नुभयो । बिसन्चो भएकालाई सन्चो गराउनुभयो । २०३० साल तिरका धेरै बच्चाहरु अहिले वुवा भैसके । हजुरवुवा पनि बनिसके । तर खाती हजुरवुवालाई अझै बिर्सिएका छैनन । सबैका आर्दश व्यक्तीत्व खाती बुवाले धेरैलाई गुन लगाएर, नयां जिवनप्रदान गरेर संसार बाट बिदा हुनुभएको छ । बुढेसकालमा पनि बिरामीको उपचारमा सकृय खाती बिर्सन नसकिने सम्झनाहरु छाडेर जानुभएको छ । खातीको यहि फागुन १६ गते निधन भएको छ । स्वर्गिय लेखबहादुर खातीसंग १ बर्षअघि हामीले भलाकुसारी गर्ने मौका पाएका थियौं । भलाकुसारीका क्रममा लामो समय स्वास्थ्य सेवा क्षेत्रमा समर्पित खातीले जिवनका केहि मिठा, नमिठा र अनौठा सम्झनाहरु यसरी सुनाउनुभएको थियो । जिवनका भोगाई र अनुभवका बारेम साथी धिरज पौडेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
स्वास्थ्य सेवामा कसरी लाग्नुभयो ?
काठमाण्डौ पढ्दखेरि मेरो बिचार थियो डाक्टर बन्ने । तर राणाकालको पालामा एसएलसीमा १ नम्बर नपुगेर मलाई फेल गराइदियो । अनि मन म¥यो । यसो हेरे, सिभिल मेडिकल स्कुल भन्ने देखें । त्यहा ३ बर्षको कोर्स पुरा गरें । त्यहांबाट म यो क्षेत्रमा प्रवेश गरेको हुं । ४,५ बर्ष म जनसेवा पट्टि लागें । त्यस समयमा कलेरा इत्यादिको महामारी चल्थ्यो । सुइ लगाउने सिष्टम थियो । सुइको लागी म गाउंगाउंमा हिड्थे । ४,५ बर्ष त्यसरीनै बिताएं । २०१० सालतिर तानसेनमा मिसन अस्पतला सुरुभयो । त्यसपछि मिसन अस्पतालमा काम थालें । त्यहां २० बर्षजति काम गरें ।
फेरी त्यहां पनि छोड्नुभयो ?
त्यहांको कामले म अति सन्तुष्ट थिएं । हुंदाहुंदै पनि तराई भेगका मानिसहरु प्रसस्त मात्रामा जाने, तिनिहरुको भाषा नमिल्ने के हुने इत्यादिले गर्दा मैले बुटवलकै आफ्नै घरमा बसेर तराइ क्षेत्रको सेवा गर्ने सिद्धान्तले मिसन छोडे । तर त्यसपछि पनि उहांहरुले फेरी पनि आएर काम गर्नुस भन्नुभयो । गएर १ साल त्यही काम गरे । पछि फेरी मन लागेन । म बुटवल आएर आफ्नै घरमा दुकान खोलेर काम सुरु गरें ।
त्यतीबेला कस्तो थियो अवस्था ? तराईका जिल्लाहरुबाट त्यहां जाने चलन थियो होइन ?
तराइका जिल्लाबाट मात्रै होइन इन्डियाबाट पनि प्रसस्त मानिसहरुको भेला हुन्थ्यो । त्यस बेला मिसन भनेपछि त मान्छेले त के के पाइन्छ भन्ने सोच्थे । रसस्तो तरिकाबाट बिरामीलाई बोझ नपरोस भन्ने सिद्धान्तबाट औषधी उचारगर्ने सिष्टम त्यहां थियो । त्यसैले पनि धेरै मानिसहरु आकर्षित हुन्थे । हिन्दुस्तानदेखि तराई क्षेत्रका प्रसस्त मानिस त्यहा जान्थे ।
अनि तपाइले बुटवलमा सुरु गर्दा यंहाको अवस्था कस्तो थियो ?
मानिसहरुमा धेरै ज्ञान थिएन । २०३० सालमा मैले दोकान खोलें । मानिसहरु अलि कमै कमै हुन्थे । बिस्तारै बढ्दै जान थाले । अब यंहाका मानिसको बिचार कस्तो, मलाई कुफत लागेछ, एक क्ययाप्सुल औषधी दिनुस भन्ने सिद्धान्त बिचारका मानिसहरु हुन्थे । तिनिहरुलाई राम्रो ज्ञान थिएन । कुफत लागेको मान्छेलाई एक क्याप्सुल त हाम्रो हातले दिनै मिल्दैन्थ्यो । त्यसको तरिका बुझांउदा समय लाग्थ्यो । सम्झाउंदा नै धेरै समय लाग्थ्यो ।
त्यती बेला बुटवलमा अरु औषधी पसलहरु पनि थिएनन होला ?
मेरो बिचारले ४,५ वटा जति थिएकी जस्तो लाग्छ ।
उपचार गराउन चांहि कहां कहांबाट आउंथे ?
भुसलडांडाको सम्बन्धले गर्दाखेरी गोरखपुर, फरेन्दादेखि पनि मानिसहरु आएर उपचार गर्ने वा सरसल्लाह गर्ने गर्थे । तराई क्षेत्रका त धेरैजसो म कंहा आउने गर्थे । उनिहरुसंग मेरो बोलीभाषा मिल्ने, रहनसहन तराइबासीसंग धेरै भएकोले पनि होला । र पहाडी क्षेत्रका दोभानदेखि माथीका धेरै मानिसहरु म कांहा आउंथे ।
त्यती बेला कस्ता बिरामीहरु धेरै हुने गर्थे ? के रोग लाग्थ्यो धेरै ?
त्यस टाइमको बुटवल र आजभोलीको बुटवलमा धेरै परिवर्तन छ । मानिसहरुलाई खानेपानीको धेरै ज्ञान थिएन । बाढीको पानी पिउंथे । खोलाको पनी पिउंथे । धेरैजसो हैजा, कलेरा लाग्ने गथ्र्यो । कयौं मानिसहरु म तानसेनबाट बुटवल आउंदाखेरी पनि भरिया बोक्ने, भारी बोकेर गएका कयौं मानिसहरु बिचबाटैमा मरेको मैले फेला पार्थें । हैजाको ठुलो प्रकोप थियो । त्यसको साथै क्षयरोगको पनि समस्या धेरै थियो । यंहा क्षयरोगी कम भएतापनि भारततर्फको आवतजावतले गर्दाखेरि उतैबाट आयो जस्तो महसुस हामीले गथ्र्यौ ।बुटवलमा मैले पाएको पानीबाट सर्ने रोगहरु धेरै हुन्थ्यो ।
भनेपछि त्यतीबेला पनि पानी शुद्ध थिएन यंहा ?
थिएन, कहां हुने सबैले खोलाको पानी खाने । यंहाका ठुलठुलामानिसहरुलाई पनि मैले प्रश्न गर्थे— हैन तपाईले पानी कहांबाट खानुहुन्छ भन्दा खोलाकै पानी खाने हो भन्थे । नजिकै माथी धारा छ, धाराको पानी खानुस किन खोलाको पानी खानुहुन्छ भन्दा होइन खोला गडगडाएर, ढुंगामा लछारिदै आएको पानी राम्रो लाग्छ भन्ने टाइपका मान्छेहरु थिए । मान्छेको बिचार त्यहां सम्मको हुन्थ्यो ।
त्यतीबेला त यातायातको पनि सुबिधा थिएन होला । पैदलै आउनु पथ्र्यो होला । कसरी आउंथे ?
तराईबासीहरुत प्राय त्यसै पनि हिंडेर आउने सिष्टम थियो । पहाडका पनि हिंडेरै आउंथे । अलि अलि बाटो खुलिसकेको थियो ।कोहीकोही मोटरबाट आउंथे ।
उपचार पद्धती चांहि अहिलेकै जस्तो हुन्थ्यो कि फरक हुन्थ्यो ?
उपचार पद्धतिमा अहिले र पहिलेमा केहि फरक छ । अहिले पाउने जस्तो औषधी केहि पाइदैन्थ्यो । इन्जेक्सन प्राय कमै जस्तो हुन्थ्यो । त्यसबेलामा एन्टिबायोटिक प्राय पाइदैन्थ्यो । मै त म कंहा आएकालाई दुश्मन खोज्न टाढा जानु पर्दैन भन्थें । आफ्नो आहार व्यवहारलाई ठिक गर । जंगलका बाघ भालुसंग डराउनु पर्दैन । तिमि डराउनुपर्छ के संग माखा संग । जो तिम्रो आमुन्ने सामुन्ने छ । सबभन्दा ठुलो दुश्मन यो हो । यस्ता चिजबाट बच्नु । पानी पिउंछौं खोलाको । त्यो पानीमा शुद्धता छैन । तिमि मान्छे भएर मान्छेको दिशा खान्छौ । त्यस कारण मुख्य कुरा पानीको ख्याल गर, माखा झिंगाको ख्याल गर भन्थें।यस्तै सल्लाह दिन्थें । उपचार पनि सस्तो थियो ।
त्यतीबेला पैसाको हिसाब हुन्थ्यो होला हैन ?
पैसाको हिसाब हुन्थ्यो । रुपियां त महंगो हो ।
अलि जटिल रोग लाग्यो, महंगो उपचार गर्नु परयो भने कति रुपियां सम्म लाग्थ्यो ?
यंहा हामीकंहा त्यती साह्रो लागेन । मिसन अस्पतालमा उपचार गर्दा क्षयरोगको पुरा कोर्ष गर्दा १८ सय सम्म लाग्थ्यो । १ बर्षको औषधीको ।
त्यतीबेला तपाईहरुले गाउंघरमा पाइने जडिबुटिहरुको पनि गर्नुहुन्थ्यो होला ?
जडिबुटि र फुकफाक भन्ने चिज मेरा दुश्मन हुन । मैले कहिल्यै मन पराईन । ढेंग्रो ठटाएर आउनेलाई पनि आधाघण्टा लगाएर सम्झाएर पठाउंथे । त्यसप्रति विश्वास पनि भएन, सुझाव पनि दिइन ।
त्यो बेला र यो बेला हेर्दा कत्तिको अन्तर पाउंनुहुन्छ ? के के फेरिए जस्तो लाग्छ ?
धेरैचिज फेरिएको छ । पहिलेको भन्दा धेरै राम्रो छ अहिलेको सिष्टम तर ज्यादा खर्चिलो । किसान, मजदुर, गरिवहरुले उपचार गर्ने नसक्ने भयो । एचएले चलाएका हेल्थ पोष्ठ छन त्यो राम्रो छ। सरकारी अस्पताल त्यो पनि ठिक छ । तर निजिमा उपचार गराउनुपर्दा जोकोहीले सक्दैन ।
अब त उमेर पनि ढल्की सक्यो, अहिले सम्म गरेको कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सुरुदेखिनै यो पेशामा लागेको र मिसन अस्पतालमा बिभिन्न देशका डाक्टरहरु संगको संगतले मलाई उत्साहित गराएको छ । मलाई यस्तो लाग्छ, टाढै बाट मान्छेलाई हेर्ने बित्तिकै तलाई यस्तो रोग लागेको छ भनेर भन्न सकुला जस्तो लाग्छ ।
के के थरि रोग लागेका मान्छेलाई सन्चो गराउनुभयो ?
नेपालीहरु धेरै अमिलो पिरो हालेको खानेकुरा खाने । त्यसले गर्दा एसिडिटि (अमलपित्त)को बिरामी धेरै भएको पाउथें । बुटवलमा केहि समय अघिसम्म त पेटमा हुने जुका, किटाणुहरु प्रसस्त पाउने गर्थे । तिनै उपचार धेरै गरें होला । र त्यसैको उपचारले नै धेरै मानिसहरुले सन्तुष्ठ महसुस गर्थे ।
तपाईले दिएको औषधीले मलाई सन्चो भयो भनेको सुन्दा कस्तो लाग्थ्यो ?
असाध्यै हर्ष लाग्थ्यो । म चाहान्थे कि मैले उपचार गरेका मानिसलाई राम्रो भएको सुन्न पाए हुन्थ्यो मेरो चाहाना हुन्थ्यो । पैसा कमाउने दृष्टि म मा कहिल्यै भएन । धेरै डाक्टरहरुसंग काम गरेको अनुभवले यो काम गर्न प्रोत्साहित गर्छ । यो काम गरिरहन मन लाग्छ । अहिले यो उमेरमा आउंदा पनि दिन काट्ने बाहाना बनिरहेको छ भन्ने मलाई लाग्छ । अहिले ८६ बर्ष पुंगे मलाई दिन कटाउन कुनै गाह्रो छैन ।
२०३० साल तिर पहाडबाट हिंडेर उपचार गराउन आएकाहरु अझै पनि भेटिन्छन होला ?
धेरै भेटिन्छन । एउटा बिरामी, सत्यवतीको बालख १० बर्षको थियो । माथी गोठमा सुतेको तल लडेछ । डोकोको बासंमा परेछ, । त्यो बांसले राजखानीबाट पेट सम्म निस्केको । पहिलो पटक मसंग आयो । त्यतीबेला अस्पतालहरु पनि थिएनन । सरकारीमा कस्तो हुन्छ थाहा थिएन । मैले मिसनको अनुभवले त्यसलाई बांस निकालेर हप्ता दशदिनमा ठिक गराएर पठाएं । त्यो बांस मैले २०, २५ बर्ष सम्म दोकानमा राखेको थिएं । त्यो हेर्न ऊ आइरहन्थ्यो । अहिले पनि आउंदैछ । अहिले ब्रिटिश लाहुरे छ ।
अन्त्यमा यो पेशामा लागेका नया पुस्तालाई के भन्नुहुन्छ ?
जुनचिजमा आफु उत्तिण भइन्छ त्यो काम सफलताका साथ गरुन । तर पैसा कमाउने सिद्धान्त लिएर यो काम नगरोस । मान्छेको सेवाको भावनाले काम गर्दा राम्रो हुन्छ ।
(स्वर्गिय लेखबहादुर खतीसंग १ बर्ष अघि उहांकै निवासमा गरिएको कुराकानी )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here