नेपाली भाषाको कन्तबिजोग

0
44

शान्तिकृष्ण अधिकारी
इतिहास तथा संस्कृतिविद् प्रा.डा.जगमान गुरुङले एउटा अन्तर्वार्तामा भन्नुभएको छ–‘कुनै पनि जातिलाई दास बनाउनु छ भने सबैभन्दा पहिला उसको भाषा मास, धर्म मास, संस्कृति मास अनि मात्र उसलाई दास बनाउन सकिन्छ भन्ने पश्चिमेली चिन्तन हो ।’ यो चिन्तन अहिले मात्रै नेपालमा हावी हुन पुगेको होइन, वर्षौं अघिदेखि यसलाई सार्थक बनाउन धेरै प्रयास गरिए । कहिले नयाँ शिक्षाका नाममा विद्यालय शिक्षाबाट संस्कृत विषयको पठन पाठन हटाइयो त कहिले अङ्ग्रेजी माध्यमका विद्यालयमा अध्ययन गरेमा गुणस्तरीय शिक्षा प्राप्त हुने हौवा फिँजाइयो । एकैपटक ध्वस्त पारिएन कि मन्दविष जस्तै थाहा नपाउने गरी नेपाली भाषाको जगमाथि आक्रमण गरियो । १० कक्षासम्म अनिवार्य रहेको संस्कृत विषयलाई पहिले चारदेखि सात कक्षासम्म र पछि छ र सात कक्षामा मात्रै सीमित गर्दै विस्तारै पूर्णतःहटाइयो । यसका कारण नेपाली भाषाको जग कमजोर बन्दै गयो र पछिल्ला दिनमा त जातिजाति बीचमा द्वन्द्व उत्पन्न गराइयो र नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषित गरियो ।
प्रायोगिक शिक्षा, प्राविधिक शिक्षा, गुणस्तरीय शिक्षा, जीवनोपयोगी शिक्षा, भौतिक शिक्षा, आध्यात्मिक शिक्षा आदि विभिन्न नाम र प्रयोगमा वर्गीकरण गरेर नेपाललाई प्रयोगशाला बनाइयो । विशेषज्ञ कुनै विषयको पनि नबन्ने तर उसमाथि गरिएको प्रयोगको अल्पज्ञान मात्रै विद्यार्थीमा रहने पद्धतिको निर्माण गरियो । कहिले कक्षा एकदेखि तीनसम्मलाई प्राथमिक शिक्षा,कहिले पाँचसम्मलाई, कहिले एकदेखि आठ कक्षासम्मलाई आधारभूत शिक्षा, कहिले पाँचदेखि सात कक्षासम्मलाई निम्नमाध्यमिक शिक्षा भनाइयो । कुनैबेला आठदेखि १० कक्षासम्मलाई माध्यमिक शिक्षा त कहिले नौदेखि १२ लाई । यस्तै यस्तै अर्थ न बर्थका कुरामा वैदेशिक लगानीका भरमा नेपालका शिक्षाविद् र सरकारलाई रुमल्याउने काम भएको छ । कक्षाको नाम जे दिए पनि ज्ञान पो उचित दिनुपर्छ । समयसापेक्ष र नेपालका विद्यार्थीलाई जीवनोपयोगी शिक्षा नदिने, तहका नाम भने परिवर्तन गरिरहने कुराको के कुनै तुक छ ? ज्ञान बाँड्ने र ज्ञान प्राप्त गर्ने कुरालाई पूर्णतः गौण बनाइयो । नेपालकै शिक्षाविद्लाई हरियो डलर देखाउँदै नेपाली भाषालाई कमजोर बनाउने प्रयास स्वरूप विद्यालय शिक्षाबाट पहिले संस्कृत शिक्षा हटाइयो भने पछि गएर नेपाली भाषालाई नै कमजोर बनाउने खेल भयो ।
यो खेलमा शिक्षाको प्रोजेक्टमा कन्सल्ट्यान्ट उपाधि भिरेर जो जो सहभागी भए ती सबै महाजनलाई नेपाली जनतामा अहिल्यै संस्मरण गर्न सक्ने चेतना खुल्ने हो भने अझै धेरै बिग्रेको छैन । कालान्तरमा नेपाली ध्वस्त पार्ने खेलमा लागेका ती मनिषीहरूको संस्मरण त हुने नै छ तर त्यतिबेला धेरै बिग्रिसकेको हुनेछ । वि.सं. २०२८ मा नयाँ शिक्षा लागू गर्नु भनेको नेपालीको टाउकोमाथि नेपालीले नै बञ्चरो प्रहार गर्ने शिक्षा भित्र्याउने प्रयास हो भनेर विरोध गर्ने प्रा.डा. राधाकृष्ण अधिकारीको देहावसान भइसकेको छ । अब उहाँको नाम सम्झनु र नसम्झनुमा केही फरक पर्दैन उहाँका लागि । त्यस्तै नेपाली भाषा बिगार्न प्रयुक्त भएका विद्वान्लाई सम्झन धेरै ढिलो गरियो भने उहाँहरूलाई पनि कुनै फरक नपर्ने बेला आउन सक्छ । गतवर्ष मात्रै पनि नेपाली लेखनमा ठूलो प्रहार गरिसकिएको थियो तर केही राष्ट्रप्रेमीका कारण ‘प्रज्ञा भवन’ ले पारित गरिसके तापनि जोगाइएको छ । यस्ता खतराहरू नेपाली भाषाका लागि पुनःपुनः नआउलान् भन्न कठिन छ किनकि हरियो डलर र विदेशी निकायको विशेषज्ञ पदवीले आकर्षित नगर्ने नेपाली बौद्धिक कमै छन् ।
पहिले–पहिले कुनै शब्दको शुद्ध लेखनका सन्दर्भमा संशय भएमा हामी गोरखापत्र हेरेर शुद्ध यही हो भन्ने निश्चित गर्दथ्यौँ । त्यसमा ‘प्रुफ रिडर’ (शुद्धाशुद्धी जाँचकी) सकेसम्म संस्कृत पढेकैलाई राखिन्थ्यो । तर अचेल पत्रिकामा छापिएको भाषा वा विद्युतीय सञ्चार माध्यममा समाचार वाचन गर्ने वा अन्य कार्यक्रम सञ्चालन गर्नेले गरेका उच्चारण सुन्दा नेपाली भाषाप्रेमीको चित्त दुख्ने गरेको छ । तिनले मात्र होइन विश्वविद्यालयकै प्राध्यापकले समेत सामान्य शब्दमा समेत ठूलो गल्ती गर्ने गरेको देखिन्छ ।
आजभोलि ‘बलात्कार’ बोलाइमा मात्र होइन, लेखनमा समेत ‘बलात्कार’ बन्न पुगेको छ । विश्वविद्यालयका प्राध्यापक नै आफूलाई‘प्राध्यापक’होइन ‘पध्र्यापक’ भन्छन् । आजभोलि न प्राध्यापकले ‘विस्तृत’ अध्ययन गर्छन्, न विद्यार्थीले नै । समाचार वाचकले ‘वृस्तित’ भन्छन् । मान्छेको ‘सौन्दर्य’ वा ‘सुन्दरता’ का बारेमा चर्चा हुनुपर्ने हो तर नेपाली भाषाको ज्ञानको अभावमा ‘सौन्दर्यता’ का सन्दर्भमा मात्रै चर्चा हुन्छ । यस्ता उच्चारण गर्ने व्यक्ति ‘अक्षम’ हुनुपर्ने हो तर आजभोलि सबै ‘असक्षम’ भएका छन् । हाम्रा ‘संस्कृति’ हरूमाथि भएका आक्रमण र क्षयीकरणलाई स्वाभाविक ‘संस्कीर्ति’ बनाइएको छ । स्कूले जीवनका मात्र नभई क्याम्पसका समेत सबै ‘विद्यार्थी’ ‘विध्यार्थी’ बनिसके । नेपालमा अब कुनै पनि ‘विद्यालय’ बाँकी छैन, ‘विध्यालय’ मात्रै छ ! यस्तै ‘प्रवृत्ति’ ले निरन्तरता पाइरहे कुनै पनि ‘पर्विर्ति’ ले सुधार गर्ने सम्भावना देखिँदैन । यी सबै कुराबाट के प्रष्ट हुन्छ भने नेपाली भाषामाथि ‘अत्यधिक’ अन्याय हुन पुगेको छ तर
‘अत्यधिक’ नभन्ने हो भने आजभोलि कमजोर ठानिन्छ । यस्ता कमजोरी सुधार्न कसैले समिति गठन गरेर ‘अध्यक्ष’ बन्यो भने टेलिभिजनका समाचार वाचकले नेपाली भाषा सुधार समितिका ‘अदक्ष’ भन्छन् ।
यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । कतिपय नेपाली शब्द त उच्चारण गर्नसमेत सक्दैनन्, आजभोलिका शिक्षित व्यक्तिले । शिक्षामा क्षयीकरण हुँदै जाँदा ‘पूरै’ भाषाको शुद्धतालाई ‘पुरा’ अर्थात् भात खाई सकेपछि थालमा छाडिएको अवशेष जसरी मिल्काइएको छ । भाषा भनेको बुझाइका लागि गरिने सम्प्रेषण मात्र हो, शुद्धताको आवश्यकता पर्दैन भन्ने प्रचार गरिएको छ, नेपाली भाषाका लागि । अङ्ग्रेजी चाहिँ बोलाइ, लेखाइ र पढाइ सबैमा शत् प्रतिशत नै शुद्ध हुनुपर्नेछ ।
नेपालका विद्यालयमा नेपाली बोल्न पाइन्न । अभिभावक पनि आफ्ना नानीहरू अङ्ग्रेजीमा अब्बल होऊन्, नेपाली जे गरे पनि हुन्छ भन्नेमै छन् । जागिरको अन्तर्वार्ता लिँदा अन्तर्वार्ताकार टुटेफुटे अङ्ग्रेजी बोल्नेलाई प्राथमिकता दिन्छन्, नेपालीमा जस्तोसुकै अब्बल भए पनि दोस्रो दर्जामा राख्छन् । यही प्रवृत्ति रहने हो भने अबको केही वर्षभित्रमा नेपाली शुद्ध लेख्ने र बोल्ने विद्यार्थी त परै जाओस्, नेपाली विषयकै प्राध्यापक भेटिने छैनन् ।
संस्कृत विषयको अध्ययनबिना नेपाली विषयको पढाइ अपूर्ण नै हुन्छ । नेपालका विद्यालयबाट संस्कृत विषय हटाउनका लागि इतिहासमा कुनै जनजातिले आन्दोलन गरेको थिएन । पश्चिमाको लहैलहैमा लागेर नेपालकै तथाकथित विद्वान्ले हटाए । अहिले यदाकदा कक्षा ११ र १२ बाट नेपाली विषय नै हटाउने भन्ने पनि चर्चा चलेको सुनिन्छ । नेपाल संस्कृत विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउँदै कालान्तरमा स्वरूप परिवर्तन गरेर संस्कृत शिक्षाको जग नै निर्मूल गर्ने अभियान प्रारम्भ भएको पनि आभाष हुँदैछ । यस्ता कुरामा लागेका व्यक्ति सफल भए भने नेपाली जनता मात्रको भाषा, संस्कृति र इतिहास लोप गराउने मार्गमा देश लागेको प्रत्याभूति हुन जान्छ । नेपाल र नेपालीको पहिचान जोगाउने हो भने विद्यालय तहमा पुनःसंस्कृत शिक्षाको जगेर्ना गराई नेपाल संस्कृत विश्वविद्यालयलाई सरकारको प्राथमिकतामा राखी नेपाली लेखन, पठनपाठन र बोलीचालीलाई शुद्ध बनाउने अभियानमा लाग्न आवश्यक देखिन्छ । अन्यथा डा.गुरुङले भने जस्तै हामी कसैको दास भएर बाँच्नु सिवाय केही बाँकी रहन्न । (साभार ः गोप)
((((((((((((((((((((((((((((((((((

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here