युवा आन्दोलन, कार्यदिशा र कार्यभार

0
48

कृष्णहरि केसी
पृष्ठभूमि ः युवा सिर्जनाका खानी हुन् । जोस, जाँगर र उत्साह हुन् । युवा ऊर्जा हुन्, वर्तमान र भविष्यका आधार हुन् । त्यसैले युवा क्रान्तिका जननी र समृद्धिको संवाहक हुन् । युवा श्रमिक, मजदुर, अन्वेषक, सिद्धान्तकार, अनुसन्धानकर्ता, सर्जक र आविष्कारक हुन् । त्यसैले हरेक कुराको आविष्कार र नयाँ कुराको खोज अनुसन्धान पनि युवाले नै गरेको छन् । चीनको द ग्रेट वाल, अमेरिकाको ट्विन टानवरका निर्माता पनि युवा नै हुन् । कतारलाई स्वर्णभूमि पनि युवाले नै बनाउँदैछन् । हाम्रा घरहरू बनाउँदा निदाल बोक्ने, ढुङ्गा फोर्ने, जस्तोसुकै कठिन काम गर्न अघि सर्ने युवा नै हुन् ।
जारशाहीविरुद्ध आहुति दिँदा अलेग्जेन्डर हुन् या जहानियाँ राणा शासनविरुद्ध हाँसी हाँसी फाँसीमा चढ्ने गङ्गालाल यी सबै युवा नै थिए । रगतको भेटी चढाउन युवा अग्रसर भएका थिए, हुन्छन् र पछि पनि हुनेछन् । श्रमको बलि र पसिनाको भेटी पनि युवा सिवाय कसैले चढाउन सक्दैन । त्यसैले राष्ट्र निर्माणको आधार युवा हुन् । विश्व कम्युनिस्टका महान गुरु कार्लमाक्र्स कम्युनिस्ट घोषणा पत्र तयार पार्दा ३० वर्षे ठिटो थिए । नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा कमरेड पुष्पलाल २५ वर्षे युवक थिए । बुद्धले युवा उमेरमा नै साधना गरेका थिए । तसर्थ युवाको प्रत्यक्ष संलग्नताविना समृद्धि कसरी ? विकास कसरी ? हो आज यी नै विषयमा विमर्श गर्नु वाञ्छनीय हुनेछ ।
वर्तमान युवा आन्दोलन
नेपाली समाजको लामो समयदेखिको सपना ‘समृद्ध नेपाल र सुखी नेपाली’ परिकल्पना साकार हुने अवस्था सिर्जित भएको छ । राजनीतिक सामाजिक क्षेत्रको आन्दोलनको रूप बदलिएको छ । नेपाली समाजको प्रधान अन्तरविरोध बदलिएको छ । यस प्रकारको बदलावमा युवा वर्गकै अग्रभागको नेतृत्व र पहलकदमी थियो । सहिदका पंक्ति युवाको थियो । घाइतेको लस्कर युवाको थियो । त्यस प्रकारको गौरवपूर्ण इतिहास निर्माणमा युवाशक्तिको अतुलनीय योगदान रहेको थियो । हिजो व्यवस्थाको विरुद्ध लड्नुभिड्नु परेको थियो आज अवस्थाको परिवर्तनका लागि, गरिबीको विरुद्ध जुद्नु परेको छ । गरिबी केवल भाषणले, नारा जुलुसले भाग्नेवाला छैन । गरिबी भोग्दा शोषण, दमन र विभेदलाई पनि एउटै चिहानमा गाड्नु परेको छ । यो अभिभारा चानचुने अविभारा होइन ? यो अभिभारा परम्परागत ढर्राले सम्भव छैन । हाम्रो जीवनशैली, हाम्रो काम गर्ने तौरतिरका, चिन्तन मननको शैली, हेराइ बुझाइ गराइमा आमूल परिवर्तन आवश्यक छ । युगले मागेको, समयले चाहेको, वर्तमानले रोजेको, भविष्यले आशा गरेको व्यवस्था निर्माण गर्न हामी युवा तयार हुनु आवश्यक छ । तर हाम्रो कर्यशैली र वर्तमान अवस्थाले त्यसतर्फको यात्रालाई गिज्याइरहेको छ । वर्तमानको युवा आन्दोलन विगतको ढर्रालाई फेर्न पनि नसकेको र समातिरहन पनि नचाहेको अवस्थामा छ । यो वर्तमान यथार्थलाई फेर्नैपर्ने छ । अबको कार्यक्रम ‘यात्रा समृद्धिको लक्ष्य समाजवादको’ हुनु पगेको छ । त्यसका लागि कस्तो समृद्धि र कसरी समाजवाद ? भन्ने निक्र्योल गर्नुपरेको छ । समृद्धिबाट प्रस्थान गरेर समाजवादको निकासमा पुग्दा आउने अफ्ठ्यारा, चुनौती र घुम्तीमोडहरू कस्ता कस्ता हुनेछन्, पत्ता लगाउनु पर्नेछ । एउटा यस्तो बृहत् नक्सा तयार गर्नुपर्नेछ । त्यो नक्सा सबैले बुझ्ने र सोबमोजिम सहजतापूवर्क पार गर्न उत्साहपूर्वक आम जनसमुदाय लामलस्कर लाग्नुपर्छ । वर्तमानको यो बाध्यात्मक अवस्थामा युवा आन्दोलन रहेको छ । विगतको एउटा ढर्रा बदलेर नयाँ कोर्समा प्रवेश गनैपर्ने अवस्थामा रहेको छ ।
आगामी कार्यदिशा र कार्यभार
विगतका उपलब्धिको शिरमा टेकेर भविष्यको सपना बोकेर सत्मार्गतर्फ फर्किएर लम्किएको कार्य नै वास्तवमा कार्यदिशा हो । सङ्गठनको लक्ष्य र उद्देश्यलाई जुरुक्क बोक्ने काम, प्रकाश पार्ने काम कार्यदिशाले गरेको हुन्छ । आज नेपाली युवासँग समृद्ध नेपाल र सुखी नेपाली निर्माण नगरी भएको छैन । सिद्धान्त र व्यवहारबीचको तालमेल नल्याई भएको छैन । श्रम गर्न सक्नेलाई श्रम नदिई भएको छैन । सबैखाले विभेद नमेटी भएको छैन । समाजवादलाई वायुपङ्खी गतिमा नभेटी भएको छैन । त्यसका लागि राष्ट्रिय पूँजीको विकास र दलाल पूँजीको निषेध नगरी भएको छैन । यसर्थ नेपाली समाजलाई समाजवाद लैजाने कार्यभार युवा आन्दोलनको मुख्य कार्यभार तयः भएको छ ।
तर आज गम्भीर प्रश्न उठेको छ, विगतमा नै ढल्छ, सकिन्छ भनेको पुँजीवाद अझ हराभरा, भर्भराउँदो र झरिलो भएर आएको छ । किन ? पहिले काटमार, युद्ध, रस्साकस्सी र प्रतिस्पर्धामा गर्ने पूँजीवादीहरू झनझन एकजुट हँुदैछन्, किन ? कुनै जमानामा संसारमा कम्पन ल्याउने कम्युनिष्ट आन्दोलन कमजोर र शिथिल भएका छन्, किन ? जनताको लामो त्याग तपस्या र बलिदानी सङ्घर्षबाट उसैको युगौँको सपनाका रूपमा रहेको समाजवाद लामो समय टिक्न सकेन, किन ? विश्वभरिमा नै रक्षात्मक अवस्थामा कनि र कसरी पुग्यो कम्युनिष्ट आन्दोलन ? यस परिवेशमा नेपालमा लोकतान्त्रिक विधिबाट कम्युनिष्ट पार्टी शक्तिशाली र सत्ता पक्ष भएको छ । के अब विश्वको कम्युनिष्ट आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टीले नयाँ भाइब्रेसन दिन सक्ला ? यी प्रश्नहरूको उत्तर, उपाय र समाधान खोज्नु नेपली युवा आन्दोलनको एउटा महत्वपूर्ण कार्यभारको रूपमा खडा भएको छ ।
संविधानमा व्यवस्था भएको मौलिक हकहरूको व्यवस्थालाई कार्यान्वयन तत्काल गराउने, नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको शतवार्षिकी सपना र आम निर्वाचनमा निर्माण गरिएको घोषणापत्रको कार्यान्वयन गराउने अर्को महत्वपूर्ण कार्यभार युवाहरूको काँधमा आएको छ । हिजो संविधानमा लेख्न दबाब दिनुपथ्र्यो भने आज त्यो लेखिएको कुरा यथाशीघ्र कार्यान्वयन गराउनुपर्ने भएको छ ।
सङ्गठनको सुदृढीकरण
राजनीतिप्रतिको आकर्षण बढाउने, सङ्गठनलाई युवाहरूको रोजाइको केन्द्र बनाउने, समाज रूपान्तरणका लागि युवा सङ्गठनमा लाग्नै पर्ने सन्देश प्रवाह गर्ने गरी सङ्गठन निर्माण गर्नुपर्छ । विगतको जस्तो बेरोजगार युवाहरूको केन्द्र मात्रै हैन, उद्यमीहरूको भीड, चन्दा उठाउने मात्रै हैन सबैभन्दा बढी कर तिर्ने जमातको पंक्ति गराई खाने मात्रै होइन गरी खाएकोमा गर्व गर्ने संस्कारयुक्त लामालस्कर तयार पार्नु नै सङ्गठन सुदृढीकरणको महत्वपूर्ण सवाल हो । त्यसका लागि अव युवा सङ्घ मात्रै होइन, युवा महासङ्घ निर्माण गर्नुपर्छ । जहाँ युवा, त्यहाँ युवा सङ्गठन निर्माण गर्नपर्छ । युथ फोर्सलाई व्यवस्थित तवरले सञ्चालन गर्न विभिन्न कामकाजी फोर्समा रूपान्तरण गर्नुपर्छ । जस्तैः ‘विपद् सामना फोर्स’ निर्माण गर्ने । प्राकृतिक विपत्ति र क्षतिलाई न्यूनीकरण गर्ने, अध्ययन गर्ने र रोकथामको उपाय सिर्जना गर्ने जनशक्ति निर्माणमा जोड दिने गरी एक फोर्स निर्माण गरौँ । नेपाल, जलवायु परिवर्तनको हिसाबले विश्वको चौँथो जोखिमपूर्ण देश, भूकम्पमा ११औँ, बाढीमा २०औँ, अन्यमा ३०औँ जोखिम स्थानमा रहेको छ । त्यसैगरी ‘डेभलभमेन्ट फार्स’को स्थापना गर्ने, जसले विकास निर्माण र उद्योग कलकारखाना सञ्चालन, ऊर्जालगायतको क्षेत्रमा योगदान गर्नेछ । ‘वर्क फोर्स’ निर्माण गरौँ । जसले प्रत्येक युवालाई सीपयुक्त र प्रविधि मैत्री बनाउने छ । सीप र प्रविधियुक्त युवा देश विकासका आधारस्तम्भ हुन् । जुन युवाहरू खेत खलियान, कारखाना र उद्योगमा हुनेछन् । यसरी एउटा गतिशील सङ्गठन निर्माण गर्ने आधार तयार हुनेछ । युवा सङ्गठनमा लाखौं युवा सामेल हुनेछन् । यसले सशक्त पार्टी निर्माण हुनेछ । समृद्ध पार्टी र समृद्ध राष्ट्र निर्माणको आधारशीला खडा हुनेछ । ती युवा श्रमशक्तिमा, उत्पादकशक्तिमा रूपान्तरण हुनेछन् । लम्पट सर्वाहारको अन्त्य हुनेछ । यसरी हाम्रै आँखाले हेर्दा हेर्दै राष्ट्रिय गौरवका आयोजना छिटो, दिगो र नमुनायुक्त तवरले ती युथ फोर्सले निर्माण गर्नेछन् । खेतखलियान हरियाली उर्वर हुनेछन् । नेपाली युवा विश्व बजारमा श्रम मात्रै हैन अब आफूले उत्पादन गरेका वस्तु माल विक्री गर्न सक्षम हुनेछन् । यसै गरेर समृद्ध राष्ट्र निर्माण हुनेछ । अनि हाम्रा कमिटीहरू उत्पादक कमिटीमा र निर्माण कमिटीमा रूपान्तरण हुनेछन् । तसर्थ हाम्रो ‘नारा सीपयुक्त कार्यकर्ता, उद्यमयुक्त कमिटी–श्रम शक्तिको विकास राष्ट्रको समृद्धि’ हुन पुगेको छ । यसले गर्दा एउटा शक्तिशाली क्रान्तिकारी सङ्गठन र क्रान्तिकारी कार्यकर्ता निर्माण हुनेछ । कमरेड माओका अनुसार कुनै ‘युवा क्रान्तिकारी हो कि होइन भनेर हामीले कसरी जाँच्ने ? यसको एक मात्र कसी हुनसक्छ, त्यो हो ऊ मजदुर र किसानको व्यापक समूहसँग घनिष्ट रूपले गाँसिन तयार छ कि छैन र व्यवहारमा त्यसो गर्छ कि गर्दैन ? यदि त्यसो गर्न तयार छ र साच्चै नै त्यसो गर्छ भने ऊ क्रान्तिकारी हो, होइन भने ऊ अक्रान्तिकारी हो ।’
सामाजिक र सांस्कृतिक रूपान्तरण
नेपाली समाज बहुभाषा, बहुधर्म, बहुसंस्कृति र विविधताले भरिपूर्ण छ । सयौँ जाति, भाषा, धर्म, संस्कृतिका बीच नेपालीपनमा सहिष्णु समाज निर्माण गर्नु युवा सङ्गठनको महत्वपूर्ण कार्ययोजना हो । समाजको सामाजिक सांस्कृतिक क्षेत्रमा रहेका जडतालाई फाल्नु छ, मौलिकतालाई जोगाउनु छ । जबर्जस्त रूपमा रहेका कुरीति कुसंस्कार विकृति र विसङ्गतिलाई उखेल्नु छ । सामन्तवादी ह्याङलाई मेट्नु छ । अलौकिक, निराकार, अदृश्य शक्तिप्रतिको जुन भक्तिभाव छ, त्यसलाई प्रष्ट्याउनुपर्नेछ । मान्छे मान्छे एकै हो नि विभेद केलाई हो ? श्रम चल्छ, सीप चल्छ, पैसा चल्छ तर पानी नचल्ने ? उचनीच, हेलाहोचो बन्द गर्ने अभियान छेडी श्रम गर्ने संस्कृति, श्रमिकलाई सम्मान गर्ने संस्कार विकास गर्नु अर्को महत्वपूर्ण कार्यभार भएको छ । घुमिरहेको जाँतोलाई जसरी ओइरोको आवश्यक्ता पर्छ त्यसैगरी बेरोजगार युवालाई श्रमको आवश्यक्ता पर्छ । राज्यबाट ओइरोको व्यापक सिर्जना गर्नै पर्छ । यसो गर्दा दिनभरि बाबाले कामदार नपाउने र छोराछोरीले काम नपाउने अवस्थाको अन्त्य हुनेछ । श्रमको सम्मान हुँदा दैनिक ४ लाख युवा क्यारेम खेल्न छोडेर श्रममा हामफाल्ने छन् । यी श्रमिक युवा समाजलाई तोड्ने बञ्चरोजस्ता होइन बरु जोड्ने धागो उनिएका सियो जस्ता हुनेछन् । सामाजिक सांस्कृतिक रूपान्तरणको अभियान्ता तिनै युवा हुनेछन् ।
नियमित अध्ययन प्रशिक्षण ः
बहुमत ल्याउनु मात्रै ठूलो कुरा होइन रहेछ । समाजवाद ल्याउनु मात्रै पनि ठूलो कुरा होइन रहेछ । त्योभन्दा ठूलो कुरा त्यसलाई टिकाउनु र दुनियाँमा विकाउन सक्नु चाहिँ महत्वपूर्ण सवाल रहेछ । ठूला ठूला सालिक होइन, समाजवाद टिकाउने रक्षक माक्र्सवादी ज्ञान, बहुप्राविधिक सीप भएका मानवलाई निरन्तर उत्पादन गर्नु युवा आन्दोलनको अर्को महत्वपूर्ण कार्यभार हुन पुगेको छ । जसले लेनिन वा माओको लासलाई जस्ताको तेस्तै राखेर पूजा गर्ने होइन, बरु जिउँदो जाग्दो लेनिनहरू र माओहरूलाई निरन्तर जन्मदिइरहने छ । यो नै समाजवाद टिकाउने सुन्दर उपाय हो । क.कार्ल माक्र्सले भन्नुभएको छ कि ‘आफूपछि कम्युनिष्ट प्रचारलाई जारी राख्न मैले नौजवानहरूलाई अवश्य शिक्षित गराउनु पर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here