प्लाष्टिक प्रदूषणः बढ्दो जोखिम

0
230

रामराज शर्मा
उमेश पाठक
विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइयो । वातावरण प्रेमीहरुले संसारका प्रमुख शहरहरुमा अनेक किसिमका प्रदर्शनहरु गर्ने कार्यक्रम राखेका छन् । वातावरणसम्बन्धी जनचेतना र विभिन्न सुरक्षात्मक उपायहरु कार्यन्वयन गर्नको लागि भनेर संयुक्त राष्ट्र संघको सकृयतामा सन १९७४ देखि यो दिवस लगातार मनाउँदै आइरहेको छ । प्रत्यक वर्ष फरक फरक उद्धेश्य र नाराका साथ मनाइँदै आएको विश्व वातावरण दिवसको सन् २०१७ को सम्मेलन क्यानडामा भयो । यस पटक भारतले आयोजना गर्दैछ । यो वर्ष को नारा प्लाष्टिक प्रूुषणलाई जितौँ अर्थात् ‘विट प्लाष्टिक पोलुसन’ छ । भारतका धेरै शहर वातावरणीय दृष्टिकोणबाट निकै प्रदूषित शहरमा पर्छन् । अलाहवाद, पटना, ग्वालियर,राइपुर र दिल्ली विश्वका उच्च प्रदूषित १२ शहरमध्ये हुन् । त्यो अर्थमा यो पटकको सम्मेलनले बिशेष महत्व राख्छ । विश्व वातावरणमा नकारात्मक असर पारिरहेका विश्वका प्रमुख देशमध्ये चीन पहिलो, अमेरिका दोस्रो र भारत तेस्रो हुन् । चीनले प्रत्येक वर्ष दश हजार मिलियन मेट्रिक टनभन्दा धेरै कार्बन उत्सर्जन गरिरहेको छ । यसै गरी भारतले दुई हजार मिलियन मेट्रिक टनभन्दा धेरै कार्बन उत्सर्जन गरिरहेको छ ।
हाम्रो देश यस्ता दुई देशहरुको बिचमा अवस्थित छ । नेपालले प्रति वर्ष तीन मिलियन मेट्रिक टन कार्बन उत्सर्जन गर्ने गरेको तथ्याङ्क छ । दक्षिण एसियामा भुटानले आफूलाई कार्बन जिरो मात्र होइन कार्बन ऋृणात्मक देश भनेर दाबी गरिरहेको छ । भुटानको उक्त दाबीको पछाडि जलविद्युत्को तिब्र विकास र वन जंगलको विस्तार तथा संरक्षण नै हो । विश्व वातावरणमा नकारात्मक असर पारिरहेका दुई देशहरुको बिचमा रहनुपर्दा उक्त प्रदुषणको असर हामीलाई पनि सोही रुपमा परिरहेको छ । यो विश्वव्यापी समस्या हो कुनै एक वा दुई राष्ट्रले समाधान गर्न सक्ने समस्या होइन । तर, ऊर्जाका लागि नविकरणीय र बैकल्पिक स्रोतलाई अत्याधिक प्रयोग गर्दै, वन जङ्गलको संरक्षण र बिस्तार गरी प्लाष्टिकजन्य पदार्थ प्रयोगमा कमी ल्याउने हो भने पक्कै पनि सकारात्मक असर देखा पर्नेछन् । यो पटकको वातावरण दिवसको मुख्य उद्धेश्य प्लाष्टिकजन्य वस्तुको प्रयोगबाट हुने प्रदुषणबारे जनचेतना बढाउँदै त्यस्ता वस्तुको प्रयोगमा कमी ल्याउन के कस्ता उपायहरु अपनाउनुपर्छ भन्ने कुरामा केन्द्रीत छ ।

प्लाष्टिक प्रदूषण र पर्यावरण
वातावरणीय रूपमा प्लाष्टिक प्रदूषणलाई चुलिँदो प्रकोपको रुपमा लिन सकिन्छ । धेरैजसो प्लाष्टिकजन्य पदार्थहरू पेट्रोलियम वा प्राकृतिक ग्याँस जस्ता अनवीकरणीय ऊर्जाका स्रोतबाट निर्माण हुन्छन् । जसको प्रत्यक्ष प्रभाव हाल विश्वमा व्याप्त जलवायु परिवर्तनलगायतका समस्यामा पर्छ । रोनाल्ड गेयर नामक अनुसन्धानकर्ता र उनको टिमले गरेको अनुसन्धानले भन्छ, ‘हालसम्म ८.३ खर्ब मेट्रिक टन प्लाष्टिकको उत्पादन भएको छ, जसले ६.३ खर्ब मेट्रिक टन फोहोर पदार्थ पैदा गरेको छ ।’ साइन्स एड्भान्सेस् नामक जर्नलको २०१७, जुलाई अंकमा प्रकाशित उनको अनुसन्धान अनुसार संसारमा कुल उत्पादन भएको प्लाष्टिकको करिब ७९ प्रतिशत फोहोरको रुपमा फालिन्छ, १२ प्रतिशत जलाइन्छ र बाँकी ९ प्रतिशत मात्र पुनःप्रयोग गरिन्छ ।
यो अत्यन्त भयानक तथ्याङ्क हो र अहिलेकै दरमा प्लाष्टिकको उत्पादन र प्रयोग हुँदै जाने हो भने सन् २०५० सम्ममा १२ खर्ब मेट्रिक टन प्लाष्टिकको फोहोर उत्पादन हुनेछ, जसको व्यवस्थापन गर्नु अत्यन्त चुनौतिपूर्ण छ । प्लाष्टिकको सबैभन्दा ठूलो दूर्गुण भनेकै यसलाई जैविक रुपमा नष्ट हुन लामो समय लाग्नु हो । आजकल बजारमा पाइने धेरै जसो तयारी खानेकुराको प्याकेजिङ प्लाष्टिकमै हुन्छ र उपभोक्ताले उक्त खाद्यवस्तु उपयोग गरिसकेपछि खोललाई जथाभावी फाल्नाले सायद प्लाष्टिक नपुगेको ठाउँ नै छैन होला । यसले मुलुकको समग्र कृषि उत्पादन त घटाएको छ नै, त्यसका अलावा जैविक विविधतामा समेत ठूलो प्रतिकूल असर पारिरहेको छ । प्लाष्टिकजन्य पदार्थको अर्को डरलाग्दो जोखिम भनेको जमिनमुिनको पानीलाई प्रदूषित गर्ने हो । क्लोरिनेटेड प्लाष्टिकलाई माटोमा जथाभावी मिसाउँदा सो वरिपरिको माटोमा खतराजन्य पदार्थ छोड्न पुग्छ जुन पदार्थ जमिनमुनि रहेको पानी र नजिकका नदीनालामा मिसिन पुग्दा उक्त पानी प्रयोग गर्ने सम्पूर्ण प्राणीलाई निकै घातक असर परिरहेको छ । काठमाडौं र हाम्रा तराई क्षेत्रमा जमिनमुनिको पानी ब्यापक रुपमा प्रयोग गरिन्छ यस्तो अवस्थामा हाम्रो स्वास्थमा प्रत्यक्ष असर पारिरहेको छ ।
तथ्यांकले के देखाउँछन् भने,प्रत्येक वर्ष विश्वमा ५०० बिलियन प्लास्टिक ब्यागहरू प्रयोग हुन्छन् । प्रत्येक वर्ष कम्तीमा ८० लाख टन प्लाष्टिक समुन्द्रमा मिसाइएको छ । यो भनेको प्रत्येक मिनेट एक ठूलो ट्रकभरिको प्लाष्टिकको मात्रा हो । गएको दशकमा निकै धेरै प्लाष्टिक उत्पादन र प्रयोग भयो । त्योभन्दा पहिलाको सय वर्षमा जती प्लाष्टिक प्रयोग गरिएको थियो त्यो भन्दा धेरै यो दशकमा प्रयोग भएको छ । उत्पादन भएका प्लाष्टिकमध्ये पचास प्रतिशतभन्दा धेरै प्लाष्टिक एक पटकमात्र प्रयोग गरिएर मिल्काइएको तथ्याङ्क छ । यसैगरी विश्वमा प्रत्येक मिनेटमा १० लाख प्लाष्टिक बोतलहरू बिभिन्न प्रायोजनका लागि किनबेच हुने गरेको छ । विश्वमा उत्पादन हुने कुल फोहोरको मात्रामा दश प्रतिशत प्लाष्टिकजन्य वस्तुहरू छन् । वातावरणमा प्रतिकुल असर पर्दै अत्याधिक कार्बन उत्सर्जन भैरहँदा विश्वको खाद्य सुरक्षामा निकै खतरा परिरहेको छ । जलचर र थलचर प्राणीको जीवनमा खतराको घन्टी बजिरहेको छ । मानव स्वास्थ्यमा दिन प्रतिदिन नयाँ नयाँ समस्याहरु देखा परिरहेका छन् । दैनिक कार्यमा ब्यवधान आइरहेको छ । भारतको दिल्लीसहित धेरै शहरहरूमा धेरै पटक प्रदूषित वातावरणका कारण मानिसलाई घरभित्रै बस्न आग्रह गरिएको थियो । हाम्रै काठमाडौं शहर पनि दूषित वातावरणको कारण निकै अस्वस्थ शहर भनेर बेलाबेलामा चर्चा हुने गरेकै छ । यस्ता समस्याहरु विश्वभर भइरहेका छन् कतै निकै सुख्खा हुने त कतै अनेपेक्षित वर्षा हुने जस्ता समस्या थपिँदै गइरहेका छन् ।

जलविद्युत्मा असर
प्लाष्टिकजन्य पदार्थको उचित ब्यवस्थापन नगरी ल्यान्ड्फिल्ड क्षेत्रमा जथाभावी मिल्काउँदा विश्वतापमानमा वृद्धि गराउने हरित ग्यासको तिब्र उत्पादन भइरहेको छ । ल्यान्डफिल क्षेत्रमा विभिन्न किसिमका माइक्रो अर्गानिज्म हुन्छन्, जसले प्लाष्टिकको बायोडिग्रेडेसनमा तिब्रता ल्याउँदछन् । सुडोमोनस, नाइलनइटिङ र फ्लाभो ब्याक्टेरियाले नाइलनलाई तिब्र रूपमा टुक्रयाउने गर्छन् । यसरी बायोडिग्रेडेबल प्लाष्टिक टुक्रिँदा वातावरणमा ठूलो मात्रामा मिथेन ग्यास उत्पादन हुन्छ र सो मिथेन ग्यासले विश्व तापमान वृद्धिमा निकै मद्धत पु¥याइरहेको छ । विश्व तापमान वृद्धि हुँदा नदीको बहाव र हिमालमा रहने हिउँको मात्रामा निकै परिवर्तन आइरहेको छ । हाम्रा प्रमुख नदीको स्रोत हिमाल नै हुन् । विश्व तापमानमा वृद्धि भैरहँदा यी हिमालको हिउँ सञ्चित गर्ने क्षमतामा क्रमसः ह्रास आइरहेको छ । इसिमोडले सन् २०१५ मा गरेको एक अध्ययन अनुसार सन् २०५० सम्ममा हिन्दुकुश हिमालमा तापकम सरदर २ डिग्री सेल्सियस र कुनै कुनै स्थानमा ४ देखि ५ डिग्री सेल्सियस सम्म वृद्धि हुनसक्ने देखाएको छ । यो हिमालयन शृंखलामा वर्षाको मात्रामा २५ प्रातिशतसम्म परिवर्तन हुनसक्ने, छोटो समयमा धेरै वर्षा हुनसक्ने र अप्रत्यासित वर्षाहरू हुनसक्ने जस्ता सम्भावना औंल्याएको छ ।
यसरी तापक्रम वृद्धि र हिँउ वर्षाको मात्रा घट्दै जाँदा हाम्रा नदीको वहाबमा निकै परिवर्तन आउने पक्का छ । त्यस्तो हुनु भनेको हाम्रा जलविद्युत आयोजनाको आयु घट्नु हो । निर्माण भइसकेका र अब निर्माण हुने जलविद्युत् आयोजनाको भविष्य हाम्रा नदीमा बहने पानीको मात्रासँग जोडिएको छ । सो पानीको मात्रा जलाधार क्षेत्र र हिमालको आयुसँग जोडिएको छ । यो अर्थमा हिमाल र जलाधार क्षेत्र सुरक्षित गर्न सकियो भने मात्र हाम्रा जलविद्युत् आयोजनाको आयु लामो हुनेछ ।
जलविद्युत्को प्रचुर सम्भावना भएका मुलुकहरू रसिया, चीन, ब्राजिललगायत देशहरुले पनि जलविद्युत् मात्र ऊर्जाको विकल्प होइन र यही तरिकाले वातावरण प्रदूषित हुँदै विश्व तापमानमा वृद्धि हुँदै जाने हो भने जलविद्युत्को आयु लामो नहुने निष्कर्षका साथ सौर्य, बायु , टाइडल र अन्य स्रोतहरुको तिब्र विकास गरिरहेका छन् । नर्वे, स्विडेन र जर्मनले विश्व तापमानमा आएको परिवर्तनका कारण नदीको वहाब र वर्षामा अनपेक्षित परिवर्तन हुनसक्ने सम्भावनालाई ध्यान दिँदै वहाबमा आधारित र जलासययुक्त आयोजनाको विद्युत् उत्पादनमा आउनसक्ने सम्भावनालाई सम्बोधन गर्न पम्प स्टोरज आयोजनालाई बिकल्पको रूपमा प्राथिमिकतामा राखेका छन् । उनीहरूले अत्याधुनिक पम्प स्टोरज आयोजना–जसलाई १० देखि १५ सेकेन्ड भित्र कसरी पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन सुरू गरिसकेका छन् । अमेरिकाले पनि पम्प स्टोरज आयोजनालाई प्राथमिकतामा राखेको छ यसै गरी बेलायतले टाइडल पावरलाई । सन् २०११ देखि २०१५ सम्म अमेरिकाको क्यालोफोर्निया क्षेत्रमा निकै कम वर्षा भयो फलस्वरूप क्यालिफोर्निया क्षेत्रका अधिकांश जलविद्युत् आयोजना निकै न्यून क्षमतामा चलाउनु पर्दा समग्र ऊर्जा प्राणालीमा नै प्रतिकुल असर परेको थियो । यसैगरी ब्राजिलमा सन् २०१५ मा निकै कम वर्षा हुँदा ऊर्जा संकटको अवस्था सिर्जना भयो । यी दुवै घटना विश्व वातावरण र तापमानमा भएको परिवर्तनकै कारण थिए । ब्राजिलले सो घटनाबाट पाठ सिकेर सौर्य र वायु ऊर्जाको द्रूत रूपमा विकास ग¥यो ।
उता क्यालिफोर्नियाले पनि सौर्य र वायु ऊर्जा निकै वृद्धि गर्दै हाल सौर्य ऊर्जामात्र २० हजार मेगावाट पु¥याइसकेको छ । ऊर्जा सुरक्षालाई ध्यान दिँदै जलासययुक्त आयोजनालाई प्राथमिकता दिनु त आवश्यक छ नै तर दीर्घकालीन ऊर्जा सुरक्षाको लागि हामीले पनि अब बन्ने जलासय आयोजनाको डिजाइन गर्दा भविष्यमा पम्प स्टोरज आयोजनामा परिवर्तन गर्न सकिने गरी केही प्रावधान राख्नु बुद्धिमतापूर्ण देखिन्छ । त्यसो गर्न सकियो भने विश्व तापमान वृद्धिले गर्दा विद्युत् आयोजनामा भविष्यमा हुने असरलाई न्यूनीकरण गर्न सकिने सम्भावना रहन्छ । अहिले हामीले गर्न सक्ने सबैभन्दा सजिलो र राम्रो उपाए भनेको जलाधार क्षेत्रको संरक्षण र विस्तार नै हो ।
अन्त्यमा,प्लाष्टिकजन्य पदार्थको तुरून्तै विकल्प सम्भव नहोला । तर, पुनः प्रयोग र उचित व्यवस्थापन गर्न सकियो भने वातावरणमा परिरहेको नकारात्मक असरलाई पक्कै कम गर्न सकिन्छ । प्लास्टिकजन्य पदार्थको प्रदूषण कम गर्न ५ आर अर्थात रिडक्सन, रियुज, रिप्लेस, रिसाइकल र रिकोभरको सिद्धानन्त प्रयोग गर्नु अहिलेको आवश्यकता हो । ५ आरको अर्थ, खपत वा खेर जाने झोलाको परिमाण घटाउने, प्रयोगकर्ताले नै खेर जान लागेको झोलालाई पुनः प्रयोग गर्ने, प्लाष्टिक झोलाको प्रयोगलाई वातावरणमैत्री विकल्पले विस्थापित गर्ने, खेर गएको प्लाष्टिकलाई अन्य उपयोगी सामाग्री बनाउन पुनः प्रशोधन गर्ने र पुनः प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेको प्लाष्टिकबाट ऊर्जा उत्पादन गर्ने भन्ने हो । यो सिद्धान्तलाई पछ्याउँदै हामी पनि सचेत बनौं, स्वच्छ वातावरण नै हाम्रो र सन्ततिको भविष्य हो त्यसैले प्लस्टिकजन्य पदार्थको प्रयोग सकेसम्म कम गरौं । (बेलायतमा कार्यरत शर्मा जलविद्युत् विशेषज्ञ र पाठक वातावरणविज्ञ हुन् । सेतोपाटीबाट साभार गरेका हौं ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here