कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी

0
111

तिलोत्तमा, असार ३० । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ । प्रतिबन्धका कारण धेरै समस्या र विकृति बढेको बताउँदै उहाँले आवश्यक नीति निर्माण गरेर कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा मन्त्रालय रहेको प्रष्टाउनुभयो ।
‘जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउँछौं ।’ उहाँले भन्नुभयो, ‘यस सम्बन्धमा मैले प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरेको छु । एक महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौं । ’
शनिबार तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री खनालले कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।
गत साउन २६ मा तत्काली भूमिसुधार मन्त्री गोपाल दहितको मन्त्रीस्तरीय निर्णयबाट वर्षमा एकचोटि वा अदालतको फैसला र अंशबन्डामा मात्र कित्ताकाट गर्न पाउने व्यवस्था कायम छ । यस्तो व्यवस्थाले समाजमा सम्बन्ध विच्छेद, अंशबन्डाका घटना बढाएको र यसले समाजमा विकृति बढाएको जानकारहरु बताउँछन् । मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा नरोकिएको बरु त्यसले अनेक विकृति बढाएकाले सरकारले नयाँ व्यवस्था गर्न थालेको बताउनुभयो ।
स्थानीय तहले भू–उपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले रुपन्देहीमा खेतीयोग्य जमिनको संरक्षण गरिनुपर्ने बताउनुभयो । ‘स्थानीय तहले अब कहाँ बस्ती बसाल्ने, कहाँ कृषि भूमि राख्ने, कहाँ जंगल राख्नेलगायतका जस्ता व्यवस्थापनका काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘यसो भयो भने भूमिको व्यवस्थित उपयोग हुनेछ ।’
भूमी समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउँदै मन्त्री खनालले यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको बताउँदै यो समस्या समाधानमा संघीय सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । कर्मचारी रुपान्तरण नहुँदासम्म जनताले परिवर्तनको अनुभूति गर्न नसक्ने सांसद न्यौपानेले प्रष्टाउनुभयो ।
सोही अवसरमा नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरु नीतिभन्दा बाहिर जान नसक्ने बताउनुभयो । भूमि व्यवस्थापनका सन्दर्भमा तिलोत्तमा नगरपालिकाको नेतृत्वले देखाएको तत्परता निकै प्रशंसनीय रहेको बताउँदै उहाँले नेतृत्वको इच्छाशक्तिका कारण आगामी आर्थिक वर्षमा तिलोत्तमामा पुनःनापी हुन थालेको जानकारी दिनुभयो ।
तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले कित्ताकाटमा लगाइएको रोकका कारण धेरै समस्या आएको बताउँदै यसलाई सरलीकृत गर्नुपर्ने बताउनुभयो । ‘कित्ताकाटमा लगाइएको रोकले धेरै सामाजिक समस्या देखिएका छन् । नापी र मालपोतमा विकृति देखिएका छन् ।’ उहाँले भन्नुयो, ‘यस कारण यो विषयलाई संघीय सरकारले यथासक्य छिटो सम्बोधन गर्नुपर्छ ।’
तिलोत्तमा नगरपालिकाले भूमिको वैज्ञानिक व्यवस्थापन गर्न जग्गा विकास तथा प्लटिङ मापदण्ड जारी गरिसकेको बताउँदै उहाँले भू–उपयोग योजना पनि कार्यान्वयन गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो । नगर उप–प्रमुख जगेश्वरी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनक बहादुर भण्डारीलगायतले बोल्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here