रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण

0
70

पाल्पा, साउन ११ । ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेकोे पाल्पाको रानीमहललाई संघीय सरकारले स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी पुरातत्व विभागले ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व रहेको रानीमहललाई तानसेन नगरपालिकालाई १० वर्षको लागि हस्तान्तरण गरेको जनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा गरिएको उक्त कार्यक्रममा संघीय सरकारका तर्फबाट पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र स्थानीय सरकारको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीबीच १० वर्षे समझदारी भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले ऐतिहासिक सम्पदाहरु स्थानीय निकायलाई हस्तान्तरण गरेर संरक्षण, संवद्र्धन गरी स्थानीय तह र स्थानीय जनतालाई दिन पाउँदा आफूलाई खुसी लागेको बताए ।
मन्त्री अधिकारीले देश संघीयतामा गएसँगै हाम्रा ऐतिहासीक सम्पदाको संरक्षण पनि संघियताकै मर्मअनुसार चल्ने हँुदा यो नितान्त नयाँ अभ्यास भएको बताए ।
तनसेन नगरपालिकाका प्रमुख शाहीले संघीय सरकारले विश्वास गरेर पुरातात्विक महत्व बोकेको रानीमहल हामीलाई दिएकोमा मन्त्री र मन्त्रालयप्रति हामी आभारी रहेको बताउँदै रानीमहलसँगै पाल्पालाई विश्वकै पाँचौँै पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन आफूहरु व्यवस्थापनका पक्षमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
दुई पक्षबीच भएको उक्त समझदारीमा भूकम्पले चर्केको भू–भागको व्यवस्थापन, सञ्चालन, रङ्ग रोगन, मर्मत सम्भार गर्दा कुनै प्रकारका स्वरुप परिवर्तन गर्न, मास्न, बिगार्न पाइने छैन र प्रत्येक कार्य गर्दा सरकारको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने बताइएको छ ।
नेपालको ताजमहल मानिने पाल्पा जिल्लामा अवस्थित रानिमहल नगरपालिका वडा नं. १३ बौघागुम्बामा रहेको छ । तानसेनदेखि १३ किलोमिटर उत्तर कालिगण्डकी नदी किनारमा रहेको रानीमहल दरबारसम्म अहिले सहजरुपमा सवारी आवागमन हुने गर्दछ ।
पाल्पा गौडाका तत्कालीन तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा ५ वर्ष लगाएर वि.स. १९५४ सालमा रानीमहल निर्माण पूरा गरेका थिए । सच्चा प्रेमको प्रतीक ठानिने रानीमहल प्रेम जोडीहरुको प्रमुख गन्तव्य मानिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here