नमन मेरो गुरु अनि जन्मभूमिलाई

0
66

ढालानन्द चालिसे
साउन ११ गते गुरु पुर्णिमाको दिन । सर्वप्रथम आफु जन्मेको ठाउँ छाडेर स्वदेशमै तर मधेस तिर लागेको ४२ भएको स्मरण भयो । यसबिचमा ४२ पटक कोदो रोपियो, मकै छरियो, धान रोपियो, खेती स्यारियो । दशैं तिहार उत्ति नै मनाईयो । हामी यहाँ आइयो, यही मनाईयो । यहाँ हुँदा मेरो प्यारो त्यहीँ ठाउँ तिम्रो याद आउँछ । मैले गर्ने उकाली ओराली मैले डिङ्गा चराउने चउर चरन सायद तिमीले पनि त मलाइ सम्झे हौला सायद ।
त्यसैले त होला मलाई बाडुली लाग्दा मैले जन्म घर सम्झन्छु । बाडुली लागेपछि जन्म घर, ठाउँ सम्झँदा त्यो बन्द भएको अनुभूति गर्छु । कयौं पटक बाडुली लाल्दा मेरा बच्चापनका साथीहरुको अनुहार सम्झेको छु । र, बाडुली बन्द भएको छ । अनि कैले त्यसो गर्दा बन्द नभए पछि मैले गाई चराउने पत्यान, रानीवन, चुच्चेढुङ्गा, चिहान डाँडा, पुराना गाउँ र रोलमा बाख्रा गाई चराएको, लुइचेको खेतमा पोखरीसम्म चिलाउनेको र पातीको सोत्तर काटेको सम्झिँदा बाडुली बन्द भएको छ । त्यहीँ भएर होला त्यो ठाउँको याद आउँदा बाडुली बन्द हुँदा त ठाउँले पनि सम्झिँदो रहेछ जस्तो लाग्छ ।
मेरो जन्मे ठाउँमा गुरुपुर्णिमको अवसरमा मलाई चण्डी पढ्न सिकाउने उप्रेत बुबा लाई सम्झिन चाहन्छु । जस्ले मलाई चण्डीका केही श्लोक भएपनि कण्ठ पार्न सिकाउनु भयो । अनि अन्य गुरुहरु जसले जोड घटाउ र एविसिडी सिकाउनु भयो सबैमा नमन गर्न चाहन्छु । अनि मलाई दिक्षामन्त्र दिने गुरु चतुर्भुज चालिसे अनि खासमा गुरुमन्त्र कापीमा लेखेर सिकाउने भिनाजु चिन्तामणि गौतमप्रति नमन गर्न चाहन्छु ।
प्रसंग चल्दै थियो जन्मे ठाउँको । यो बेला झमझम दर्केको पानीमा घुम ओडेर कोदो रोप्ने मेलो बनाउन लाग्दा जुकाले टोकेको अनि खेतारीले मेलो नपुगी कराएको र बिडा बनाई त्यमा बस्दै आमा दिदीबैनी र भाउजुहरुले कोदो रोपेको, मकैमा पात लाझेर घाँस बनाउँदाको याद आइरहेको छ । खेतमा पाकेको मकै पोल्दै खानी बेला र खेत रोप्ने बेला अनि रातभरी पानी पर्दा मूल फुटेर बिहान हेर्दा धेरै ठाँउबाट झरना बगेको देख्दा कति रमाइन्थ्यो । अनि गाई बाख्रा लिएर वन जाँदा कुहिरो लागि वस्तु हराउँदा हैरान हुनुको उति बेलाको पिडा अहिले मिठो सम्झना बनी उर्लेर आउँछ । यो बेलामा खनिउ बाँडुला र भटुक पाके होलान्, साउने आरु बचेका होलान्, आहा रमाईलो हुँदो हो तिनी दिन, फेरी फर्किएर आउने भए ! बर्षे बिदा हुँदा स्कुलसंगै पढ्ने मितज्युसंग छुट्निुपर्दा त्यो एक महिना पनि लामोको महसुस हुन्थ्यो ।
हामी रुन्थेउ कहिले भेट हुन्छ भनी । यी र यस्तै अनेक याद दिलाउने मेरो जन्म ठाँउ । म जहाँ जे जस्तो रहेपनि मातिएर छाडेको होइन । ठाउँ छोड्नु पर्दा अति दुःख लागेको छ । सम्झनाले सताउँछ हामीलाई सराप नदेउ है –मेरो जन्मे ठाउँ । बस् तिमी ठिक रहुँ । कुनै पनि विपत्ति नहोस् । पहिरो र डढेलो नलागोस् । आटो र साँधका विषयमा संधियारसँगको झगडा नसुनिऊन्, व्यहोर्न तिामीलाई नपरोस् । राम्रो र मिठा फल र खेती फलाई लोकको भलो जुन भएको छ, त्यसमा रुकावट नहोस् । अनि हामीलाई आषिक देऊ है किनभने मात्तिएर नभई पेट पाल्लन कै निम्ति तिमी भन्दा यत्ति टाढा रहेर संघर्ष गर्दैछु । बर्खाको याद आउँदा मेरो जन्मे ठाउँलाई नमन । गुरु पुर्णिमामा मेरा गुरुहरुलाई नमन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here