घरपालुवा चौपाया बेवारिसे छाडे जरिवाना !

0
198

तिलोत्तमा, साउन १३ । तिलोत्तमा नगरपालिकाले घरमा पालिएका चौपाया बेवारिसे छाड्ने व्यक्तिलाई जरिवाना गर्ने नियम बनाएको छ । छाडा चौपायाका कारण नगरमा धेरै समस्या देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७४’ जारी गरेको हो । कार्यविधिमा घरपालुवा चौपाया बेवारिसे छाडा छाड्नेलाई पहिलोपटक बढीमा तीन हजार रुपैंयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ ।
गाई÷गोरु–बाछा÷बाछी बेवारिसे छाडिएमा तीन हजार, राँगा÷भैंसी–पाडा÷पाडीको सात सय, बाख्रा, खसी, बोका, भेंडा, सुँगुर÷बंगुरको पाँच सय जरिवाना गर्ने नियम नगरपालिकाले बनाएको हो । यो नगरपालिकामा मूलतः छाडा गाई÷गोरु–बाछा÷बाछीको समस्या छ ।
नगरपालिकाले छाडा चौपाया नियन्त्रण अभियान सञ्चालन गरेर त्यसता चौपाया गौशालासम्म पु¥याउँदै आए पनि घरपालुवा चौपाया सडकमा आउने क्रम नरोकिँदा अभियान अपेक्षितरुपमा प्रभावकारी हुन सकेको छैन । नगरपालिका क्षेत्रभित्र जथाभावी छाडिने बेवारिसे छाडा पशु चौपायाले सडक एवं सार्वजनिक स्थलमा पु¥याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा क्षति नियन्त्रण गर्दै “ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा” नारालाई व्यवहारमा उतार्नका लागि घर–गोठमा पालिएका पशु चौपायालाई छाडा छाड्ने प्रवृत्तिलाई रोक्न नगर कार्यपालिकाले कार्यविधि जारी गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
नगरपालिकाले जारी गरेको यो कार्यविधिविपरीत घर–गोठमा पालिएका पशु चौपायाहरु नियतवश घरबाट हटाउने उद्देश्यले सार्वजनिक स्थलमा बेवारिसे छाडिदिने गरेको पाइएमा नगरपालिकाले त्यस्ता पशु चौपाया धनीको यकिन पहिचान गरी पहिलोपटक बढीमा तीन हजार र पटक–पटक गरेमा क्रमशः ५० प्रतिशतका दरले बढाउँदै जरिवाना गरी नियन्त्रणमा लिइएका त्यस्ता छाडा पशु चौपाया सम्बन्धित पशुधनी कै जिम्मा लगाउने नियम नगरपालिकाले बनाएको छ । घर–गोठबाट पशु चौपाया हटाउने मनसायले त्यस्ता पशु चौपाया सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा छाड्ने, छाड्न लगाउने कार्यमा संलग्न पशु चौपायाधनीको सूचना दिने व्यक्ति, संघ संस्थालाई त्यस्तो चौपाया धनीबाट असुल गरिएको जरिवानाको ५० प्रतिशत रकम पुरस्कारस्वरुप उपलब्ध गराउने व्यवस्था पनि नगरपालिकाले मिलाएको छ । सबैको सहयोग र सहकार्यविना छाडा चौपाया नियन्त्रण असम्भव देखिएपछि नगरपालिकाले यस्तो नियम बनाएको हो ।
पालिएका चौपायाको बीमा गराइ उनीहरुको मृत्यु वा अनुत्पादक हुँदा पाइने क्षतिपूर्तिको लाभ लिन सम्पूर्ण पशुपालक किसानहरुमा आग्रह गर्दै नगरपालिकाले पशुको बीमा गर्दा लाग्ने शुल्कको आधा रकम व्यहोर्ने भएकाले यसबाट समेत थप लाभ उठाउन सम्पूर्ण किसानहरुलाई अनुरोध गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा झण्डै आठ सय किसानले नगरपालिकाबाट बीमावापतको रकम लिएका छन् । बीमा गरेका पशुको मृत्यु भएमा वा अनुत्पादक भएमा क्षतिपूर्ति पाइने भएकाले छाडा छाड्नु नपर्ने नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले बीमामा अनुदानको व्यवस्था गरे पछि नगर क्षेत्रमा पशुहरुको बीमा गराउने प्रचलन बढ्दै गएको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् । दुग्ध उत्पदानको ‘हव’ को रुपमा रहेको तिलोत्तमा नगरपालिका वडा नं. १ र ८ मा गौशालासमेत रहेको छ । गौशाला व्यवस्थापनमा ईस्कोन नामक अन्तर्राष्ट्रिय संस्थाले चासो देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here