तिलोत्तमाखबर । विगत सात कारोबार दिनदेखि सेयर बजार लगातार झरिरहेको छ । प्राविधिक रुपमा देखिएका कुनै सपोर्ट प्वाइन्टमा बजार थामिन सकेको छैन । नेपाल राष्ट्र बैंकले अघिल्लो दिन मात्रै सार्वजनिक गरेको वित्तीय रिपोर्टअनुसार सबै सूचक सन्तोषजनक छन् । मुलुकमा विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च २३ खर्ब ६९ अर्ब पुगेको छ ।
भुक्तानी सन्तुलन बचत, रेमिट्यान्सको वृद्धिदर कायम, घटेको ब्याजदर, पर्याप्त लगानीयोग्य रकम जस्ता सबै वित्तीय सूचक बजारअनुकूल छन् । तर यस्तो अनुकूल अवस्थामा पनि बजारले भने उल्टो प्रतिक्रिया जनाइरहेको छ ।बजार बढ्दा पनि लगातार बढ्ने र घट्दा पनि लगातार घटेको पछिल्लो एक महिनाको ट्रेन्डले देखाउँछ । फागुन १ गते २६७८ अंकमा रहेको बजार लगातार बढेर फागुन १८ गते २८९० अंकमा पुगेको थियो ।
दुई साताको अवधिमै बजार २१२ अंक बढेको थियो । फेरि फागुन १९ देखि भने बजार लगातार झरिरहेको छ । त्यसयताका सात कारोबार दिन लगातार बजार झर्दै आज मंगलबार २७१९ अंकमा झर्यो अर्थात् समग्रमा फागुन १ पछि बजार २१२ अंक बढ्दा १७१ अंक घटिसकेको छ, बाँकी ४० अंक मात्रै धनात्मक छ ।