Home Blog

ब्रिटिस ग्रामर स्कुलमा सुपर प्यारेन्ट्स तीज डान्ससहित तीज महोत्सव

0

तिलोत्तमा । भाद्र ६ गते । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा (नमस्ते एकडेमीमा) हरितालिका तीज पर्वको पावन अवसरमा विविध साँस्कृतिक कार्यक्रम ,सुपर प्यारेन्ट्स तीज डान्स , दरसहित तीज महोत्सव सम्पन्न भएको छ । नेपाली हरुको महान तथा मौलिक पर्वका रुपमा रहेको तीजलाई विशेष बनाउने , अभिभावकमा रहेको साँस्कृतिक चेतलाई प्रस्फुटित गराउँदै बालबालिका , अभिभावक र विद्यालयका बिचमा मैत्रीपूर्ण भावना सृजना गर्ने लक्ष्यका साथ यो कार्यक्रम गरिएको हो ।

यस्तै हराउँदै गएका मौलिक भेषभुषा , संस्कृति र पहिचानको जगेर्ना गर्न विशेष भूमिका निर्वाह गर्ने भएकाले यो कार्यक्रम विशेष हुने ब्रिटिस एजुकेसन ग्रुपका कन्ट्री डाइरेक्टर तथा स्कुल हेड अरुण कँडेलले जानकारी दिए । ‘साहित्य र संस्कृति समाजका ऐना हुन । बालबालिका यसका बिम्ब हुन ।यसले विद्यार्थीलाई सृजनशील बनाउँछ ।

जीवन बुझाइ सफलताको बाटो पहिल्याउछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो ।’- कँडेलले भने । तीज महोत्सवको पहिलो सत्रमा ब्रिटिस ग्रामर स्कुलका प्रिरिप्राइमेरी देखि कक्षा दससम्मका विद्यार्थीले तीज गीत, नृत्य र भेषभुषा, कला संस्कृति प्रस्तुत गरेका थिए भने दोस्रो सत्रमा अभिभावकले आफ्ना सन्ततीसहित नृत्य तथा संस्कृति प्रस्तुत गरेको कार्यक्रम संयोजक रोमा शर्माले बताइन ।

सुपर प्यारेन्टस डान्स कम्पिटिसनमा प्रिप्राइमेरीदेखि कक्षा १० सम्मका ५० भन्दा बढी प्यारेन्टको नृत्यमासहभागीता र चार सय बढी अभिभावकको उपस्थिति रहेको थियो । अभिभावकहरु आफ्ना बालबालिकासँगै नृत्य गरेर स्वयम् आफ्नो प्रतिभा , छोराछोरीसितको सामिप्यता व्यक्त गरेका थिए । सुपर प्यारेन्टस हरुलाई मायाको चिनो र दरसहित सम्मान गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरको अध्यक्षता, विद्यालयकी निर्देशक पुष्पा कँडेल तथा स्कुल हेड अरुणकुमार कँडेलको विशिष्ट आतिथ्यता रहेको महोत्सवमा तहगत रुपमा कक्षा पिजीदेखि दससम्मका विद्यार्थीले कार्यक्रम सञ्चालन गरेका थिए भने समन्वय शिक्षिका अम्बिका अर्याल , पूजा थापा र बसन्ता कोइरालाले गरेका थिए । मोफसलको एक मात्रै प्रोग्रेसिभ तथा क्यम्ब्रिज विद्यालयको रुपमा रहेको यस विद्यालयमा दैनिक रुपमा पिरियड गत रुपमा अतिरिक्त कृयाकलाप सहित पठन पाठन हुने गर्दछ ।

आगामी आइतबार पनि कक्षा ११ मा अध्ययनरत विद्यार्थीको स्वागत र कक्षा १२ उत्तीर्ण विद्यार्थीको ग्रेजुएसन कार्यक्रम टाइगर प्यालेस बाइ सोल्टीमा राखिएको छ । यस वर्षको कक्षा १२ को व्यवस्थापन संकायको नतिजा सत प्रतिशत र विज्ञान संकायको छयानब्बे प्रतिशत ल्याई तिलोत्तमा नगरपालिका प्रथम भएको सहप्राचार्य उमेश कँडेल र महेश पौडेलले जानकारी दिए।

लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बो स्कूलमा तीज गीत प्रतियोगिता

0

तिलोत्तमा । भदौ ६ गते । लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बोर्डिङ्ग स्कूल तिलोत्तमा १४ टिकुलिगढले शुक्रबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरुको क्षमता वृद्धि तथा प्रतिभा प्रस्फुटन साथै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्धेश्यले आयोजित प्रतियोगिता अन्तर सदनात्मक रुपमा सम्पन्न गरिएको विद्यालयका प्राचार्य तुल बहादुर सरागँकोटी पवनले जानकारी दिनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा तिलोत्तमा वडा न १४ का अध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ४ वटा सदनका १२ टोलीको सहभागिता रहेको थियो । ३ तहमा आयोजना गरिएको प्रतियोगितामा सिनियर र सव सिनियर तर्फ यल्लो हाउस प्रथम भयो भने जुनियरतर्फ रेड हाउस प्रथम भएको छ । यसैगरि सिनियर र सव सिनियर तर्फ रेड हाउस द्धितिय भए भने जुनियरतर्फ ब्लु हाउस द्धिप्तिय भए । यसैगरि सिनियर र सव सिनियरतर्फ ब्लु हाउस तेस्रो भयो भने जुनियरतर्फ यल्लो हाउस तेस्रो भयो । यसैगरि ग्रीन हाउनले सिनियर, सव सिनियर तथा जुनियर तर्फ प्रोत्साहन स्थान हासिल गरेको विद्यालयका प्रबन्ध निर्देशक नारायण भण्डारीले जानकारी दिए । सहायक प्राचार्य अनिल थापा श्रीस मगरको स्वागत तथा काशीराम ढकालले शुभकामना मन्तब्य दिएको कार्यक्रममा शिक्षिका नन्दा कुमारी गुरुगँ र रमा पौडेलले प्रतियोगिताको सन्चालन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीतसंंगीत मार्फत विभिन्न सामाजिक विकृति र विसंगति विरुद्ध चोतनामुलक ढंगले आफ्नो प्रतिभा प्रस्तुत गरेको कार्यक्रम संयोजक रोशन शर्माले बताए ।

प्याब्सन तिलोत्तमाद्धारा खाली बसमा प्राचार्यसहितको र्याली

0

तिलोत्तमा । भदौ ६ गते । शिक्षा विधेययको विरोध गरिरहेका निजी विद्यालयका सञ्चालकहरूले आज देर्शभरि खाली बसमा प्राचार्यसहितको र्याली सम्पन्न गरेका छन । यसैक्रममा प्याब्सन तिलोत्तमाले पनि नगरपालिकाभित्र सन्चालित प्याब्सन, एनप्याब्सन र हिसानमा आवद्ध निजि स्कुलका बसहरु सिद्धार्थ राजमार्गमा उतारेर विरोध प्रद्र्धशन गरे । तिलोत्तमा १५ कोटिहवाचोकबाट प्राचार्य मात्र चढेका खाली बसहरु सहितको र्याली तिलोत्तमा कै जोगीकुटी चोकमा पुगेर सम्पन्न भएको प्याब्सन तिलोत्तमा अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । र्यालीको उद्धघाटन गर्दै प्याब्सन लुम्बिनी प्रदेशका सदस्य हरि ज्ञवालीले सरकारले ल्याएको शिक्षा विधेयक एकतर्फी र मनोमानी ढंगको भएको आरोप लगाउनुभयो ।
विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक लगायतका बुदाँ हटाउन माग गर्दै शुरु गरिएको चरणबद्ध आन्दोलन माग पुरा नभएसम्म जारी नै रहने प्याब्सन तिलोत्तमाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तुल बहादुर सरागँकोटीले जानकारी दिनुभयो । र्यालीमा मन्तब्य ब्यक्त गदै प्याब्सन तिलोत्तमाका सचिव चन्द्र अधिकारीले र्याली सफल बनाउन साथ दिने सम्पुर्ण निजि विद्यालय, तिनका प्राचार्य, सुरक्षा निकाय र प्रहरी प्रशाशन लगायत सबैलाई धन्यबाद दिदै र्याली शान्तिपुर्ण रुपमा सम्पन्न भएको बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरक्षेत्रभित्र सन्चालित निजि विद्यालयका करीत्र १०० भन्दा बढी खाली बस सडकमा दौडाइएको थियो ।

लिस्नु कपको २३औं संस्करण भदौ १४ गतेबाट हुने

0

तिलोत्तमा । भदौ ६ गते । लिस्नु कप फुटबल प्रतियोगिताको २३ औ संस्करण यही भदौ १४ गते शनिबारबाट शुरु हुने भएको छ । रुपन्देहीको तिलोत्तमा–१५ मा रहेको लिस्नु युवा क्लबको आयोजनामा हुने प्रतियोगिता कोटिहवास्थित श्री पशुपति माध्यमिक विद्यालयको प्रांगणमा हुने आयोजकले जनाए । शुक्रबार पथ्थरडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खेल संयोजक पदमबहादुर थापाले भाद्र १४ गतेबाट शुरु हुने प्रतियोगिताको फाइनल खेल भाद्र २७ गते शुक्रबार हुने बताए । प्रतियोगिताको विजेता टिमले ४ लाख ४ हजार ४४४ रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २ हजार २२२ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसै गरि सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्ताले १२ हजार ५ सय, राइजिङ खेलाडीले १२ हजार ५ सय प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीले ५ हजार र अनुशासित टिमले आकर्षक ट्रफी पाउने खेल संयोजक थापाले बताए । प्रतियोगिता ९ ए साइड को रहनेछ । यस वर्ष ८ सय जना दर्शक व्यवस्थित साथ बसेर हेर्ने व्यवस्था मिलाईको छ । खेललाई व्यवस्थित बनाउन जिल्ला फुटबल संघबाट निर्णायक टोलीलाई आमन्त्रण गरिएको छ र खेललाई फिफाको नियमानुसार खेलाइने लिस्नु क्लबका सचिव मनोज कुमार क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागि सम्पूर्ण टिमका खेलाडीहरुको खेलअवधि भरका लागि १ लाखको दुर्घटना बिमाको व्यवस्था रहेको क्षेत्रीले जनाए । प्रतियोगितामा आयोजक लिस्नु युवा क्लबसहित रुपन्देही नवलपरासी पाल्पा र वालिङ नगरपालिका गरी १२ क्लबको सहभागिता रहेको छ । २०८२ साउन १० गते बसेको बैठकको निर्णयअनुसार, प्रतियोगिताको मुख्य प्रायोजक यशोदा फुड्स र सह–प्रायोजक तिलोत्तमा नगरपालिका वडा नं. १५ को वडा कार्यालय रहेको क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए । क्लबका अध्यक्ष तिर्थराज मल्लको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा रुपन्देही फुटबल संघका अध्यक्ष लोक बहादुर पुन, पन्चकन्या समूहका प्रवन्धक देवेन्द्र साहू, यसोदा फूड्सका मधुसुदन घिमिरे लगायतले मन्तव्य राख्नुभएको क्लबका सचिव मनोज कुमार क्षेत्रीले बताउनुभयो ।

न्यु लाइट मावि र कलेजमा तिज नृत्य प्रतियोगिता

0

तिलोत्तमा । भाद्र ६ गते । न्यु लाइट माविमा तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीका विभिन्न सदनहरूबीच ८ समूहबिच गरिएको प्रतियोगितामा सिनियरतर्फ ब्लु हाउसको प्रशंसा भण्डारीको समूह र जुनियरतर्फ ब्लु हाउसकै परिधि भण्डारीको समूह विजयी भएको छ भने सिनियरतर्फ यल्लो हाउसको सोनु चुहानको समूह र जुनियरतर्फ ग्रीन हाउसको मानवी खनालको समूह द्वितीय भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर गौतमले मौलिक गीत संगीतलाई जोड दिंदै विकृतिबाट बच्नुुपर्ने बताए । शिक्षक  मधु बस्नेतको अध्यक्षता र कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य कर्णबहादुर क्षेत्री लगायत अभिभावकहरूको उपस्थिति रहेको शिक्षक अस्मिता श्रेष्ठले बताए । त्यस्तै न्यु लाइट कलेजमा पनि तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ११, १२ र स्नातक तहका  विभिन्न  तहका  विद्यार्थीले एकल तथा समूहगत रुपमा नृत्य  प्रस्तुत गर्नुका साथै नाटक समेत प्रदर्शन  गरेका थिए । कलेज व्यवस्थापन  समितिका अध्यक्ष  धर्मराज  पौडेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा  विशिष्ट अतिथि क्याम्पस  प्रमुख रमेश  ज्ञवाली  रहेका थिए ।  विद्यार्थीहरुले विभिन्न  जातीय  पोशाक सहित विविध  तीज साँस्कृतिक  प्रस्तुति राखेको कार्यक्रममा  कलेजका अतिरिक्त  कृयाकलाप प्रमुख खेमराज  खनाल , शैक्षिक  संयोजक  राजेन्द्र  कुँवर लगायतले शुभकामना  मन्तव्य  राख्नुभएको कार्यक्रम सञ्चालक सुधा खरेलले  बताए ।

चार देशीय सिरिजमा आज नेपालले नामिबियाविरुद्ध खेल्दै

0

तिलोत्तमाखबर – नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाको सामना गर्दै छ ।नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

बुधवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

0

तिलोत्तमाखबर – नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रुपैयाँ ०४ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०७ पैसा, सिंगापुर डलर एकको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३ रुपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
रासस

पूर्व प्रधानमन्त्री प्रचण्ड रुपन्देही आउँदै, यस्तो छ दिनभरको कार्यतालिका

0

तिलोत्तमाखबर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही आउने भएका छन् । दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा सहभागी हुनेछन् ।

अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार आज बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा बुटवल–३ ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीले जानकारी दिए ।

यसैगरी बुटवलको ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन कार्यक्रम रहेको जीसीले जानकारी दिए । त्यस लगत्तै उनी सैनामैनामा जारी सैनामैना गोल्डकपको फाइनल खेलको अबलोकनका लागि जाने छन् । त्यहाँ हुने दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सैनामैना गोल्डकपको फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च भिड्दै

0

तिलोत्तमाखबर – रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको फाइनल खेल आज दिउँसो हुँदैछ । सैनामैना रंगशाला मुर्गियामा हुने फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च रजहरबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । कपिलवस्तु ११ ले ५ जना र अभिषेक चर्चले ४ जना विदेशी खेलाडीलाई मैदानमा उतार्दैछन् ।

मुर्गिया फुटबल क्लबको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रविन भारीले बताए । विजेता टिम र खेलाडीलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

‘हङकङ फ्लु’ को प्रकाेप चुलिँदै

0

तिलोत्तमाखबर – केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरू पनि थिए जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो । त्यसमा हङकङ फ्लुको नामले परिचित इन्फ्लुइन्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो । ती बिरामीले केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरू देखिएको भनेका थिए । तर माथि उल्लेख गरे झैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रष्टै देखिन्थ्यो । यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई ‘पोस्ट भाइरल कफ’ भन्ने गरिन्छ । र यस्तो अवस्था अहिले समुदायमा धेरैमा भएको देखिन्छ । सामान्यतया ३ देखि ८ हप्तासम्मको निरन्तर खोकीलाई ‘पोस्ट भाइरल कफ’ वा ‘पोस्ट इन्फेकसियोस कफ’ भन्ने गरिन्छ ।

सामान्यताः नेपालमा फ्लु भाइरस वर्षमा दुई पटक बढी सक्रिय हुने गर्दछ । पहिलो लहर जनवरी–मार्च महिनामा देखिने गर्दछ भने अर्को जुलाई–सेप्टेम्बर महिनामा देखिने गर्दछ । यसैले यो भाइरसलाई ‘मौसमी फ्लु’ पनि भन्ने गरिन्छ । फ्लु भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् । यसमा ‘ए’ र ‘बी’ भाइरसले विशेषतः स्वास्थ्यमा समस्या निम्त्याउने गर्दछ । फ्लु ‘ए’ भाइरस विभिन्न समयमा महामारीकाे रूप दोहोरिने गरेको विगतका अनुभवहरू छन् ।

कोभिड–१९ भन्दा अगाडि सन् २००९ मा फ्लु ‘ए’ अन्तर्गत ‘एचवान एनवान’ प्रजातिको भाइरसलाई विश्व स्वास्थ सङ्गठनले महामारी घोषणा गरेको थियो । यो भाइरसलाई शुरूमा ‘स्वाइन फ्लु’ भन्ने गरिएको भए पनि पछि ‘एचवान एनवान पीडीएम ०९’ नामकरण गरिएको थियो । अहिले यो प्रजातिको भाइरसलाई ‘मौसमी फ्लु’ भन्ने गरिन्छ । हरेक वर्ष फ्लुको सिजनमा यो प्रजातिको भाइरस नेपालमा देखिँदै आइरहेको छ । त्यस्तै सन् १९१८ मा पनि फ्लु ‘ए’ अन्तर्गत ‘एचवान एनवान’ प्रजातिको भाइरसले महामारीको रूप लिएको थियो । भनिन्छ, यो भाइरसलाई आधुनिक इतिहासको उच्चतम घातक सङ्क्रामक रोगका रूपमा पनि लिने गरिन्छ । त्याे समयमा यो प्रजातिको भाइरसले विश्वको झन्डै एक तिहाइ जनसङ्ख्यालाई सङ्क्रमित गरेको अनुमान गरिन्छ । अनि झन्डै पाँच सय लाख मानिसको मृत्यु यही भाइरसका कारणले भएको पनि अनुमानित तथ्याङ्क छ ।

फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचफाइब एनवान’ प्रजातिको भाइरस अर्थात् ‘बर्ड फ्लु’ पनि पर्दछ । यो प्रजातिलाई पनि उच्च घातक सङ्क्रमणका रूपमा लिने गरिन्छ । यसको मृत्युदर ५० प्रतिशतभन्दा बढी देखिने गरेको छ । यो रोग सङ्क्रमित पक्षीबाट मानिसमा सर्ने गर्दछ । यद्यपि अहिलेसम्म यो भाइरस मानिसबाट मानिसमा भने सहजै सरेको देखिँदैन । चाखलाग्दो कुरा के छ भने बर्ड फ्लु पक्षीबाट मात्र मानिसमा सर्ने देखिएकामा केही महिना अगाडि अमेरिकामा गाईवस्तु वा त्यसकाे दूधबाट पनि यो भाइरस मानिसमा सरेको पुष्टि भएको थियो । उच्च घातक मानिने ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिमको स्रोत थपिँदा मानिसका लागि यो नयाँ चुनौतीका रूपमा खडा भएको देखिन्छ ।

नेपालमा सन् २०१९ मा पहिलो पटक मानिसमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिएको थियो । तर दुर्भाग्यवश ती सङ्क्रमित युवाको भने त्यही भाइरसको जटिलताबाट मृत्यु हुन गएको थियो । यस अर्थमा नेपालमा देखिएको बर्ड फ्लुको मृत्युदर शतप्रतिशत मान्न सकिन्छ । नेपालमा सन् २००९ पछि बर्सेनि कुखुरा–हाँसजस्ता पक्षीमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिँदै आइरहेको छ । तर नेपालको कृषि क्षेत्रमा अझै पनि जैविक सुरक्षाप्रति पर्याप्त ध्यान दिने गरेको भने पाइँदैन । यसका कारणले नेपालमा ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिम मानिसमा उच्च रहेको मान्न सकिन्छ ।

के हो त ‘हङकङ फ्लु’ ?

फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचथ्री एनटु’ अर्को मुख्य प्रजाति हो । नेपालमा यो भाइरस ‘एचवान एनवान पीडीएम ०९’ प्रजातिको भाइरससँगै वर्षेनि देखिने गर्दछ । यसलाई ‘हङकङ फ्लु’ को नामले पनि चिनिने गर्दछ । सन् १९६८ मा पहिलो पटक हङकङमा प्रकोपका रूपमा देखिएको यो भाइरसले १० देखि ४० लाख मानिसको ज्यान लिएको अनुमान गरिन्छ । तर अहिले यो भाइरस पनि ‘मौसमी फ्लु’ का रूपमा परिणत भइसकेको छ । दुई महिना अगाडिसम्म पनि व्यापक रहेको ‘एचवान एनवान पीडीएम ०९’ प्रजातिको भाइरसलाई नयाँ साल सन् २०२५ लागेसँगै ‘हङकङ फ्लु’ ले तीव्र गतिमा प्रतिस्थापन गरिदिएको छ ।

‘हङकङ फ्लु’ फैलन शुरू भएसँगै धेरै मानिसहरू बिरामी भई घरमा नै आराम गर्नुपर्ने अवस्था/बाध्यता सिर्जना गरिदिएको छ । माथि उल्लेख गरे झैँ धेरैलाई लामो समयसम्म खोकीले समेत नछोडेको अर्थात् ‘पोस्ट भाइरल कफ’ को समस्यासमेत देखिने गरेको छ । ‘पोस्ट भाइरल कफ’ को कारणमा ‘हङकङ फ्लु’ सँगै वायु प्रदूषणको समस्यालाई पनि नजरअन्दाज गर्न भने सकिँदैन । अहिले वायु प्रदूषणले नेपाल आक्रान्त भइरहेको छ ।

लक्षणहरू के के हुन् त ?

यसमा समान्यतया सङ्क्रमण भएको दुई दिनमा फ्लुका लक्षणहरू देखिन शुरू हुन्छ । अचानक ज्वरो आउनु, खोकी लाग्नु, टाउको दुख्नु, मांशपेशी तथा जोर्नी दुख्नु, घाटी दुख्नु, नाकबाट पानी बग्नु, बालबालिकामा विशेषतः बान्ता हुनु जस्ता फ्लु भाइरसका प्रारम्भिक तथा मुख्य लक्षणहरू हुन् । अरू लक्षणहरू केही दिनमा (एक हप्तामा) कम हुँदै जाने भए पनि खोकी भने दुई हप्ता वा त्याेभन्दा बढीसम्म रहन सक्दछ । कतिपयमा भने निमोनिया वा सेप्सिस जस्तो जटिलताहरू पनि देखिने गर्दछ । ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, बालबालिका, दीर्घरोगी आदि फ्लु जटिलताको जोखिम पर्ने समूहहरू हुन् ।

उपचार के छ त ?

खोक्दा, हाच्छिउँ गर्दा वा सङ्क्रमितले खोक्खा र्‍यालको छिटा सतहमा रहेको र त्याे ठाउँलाई हातले छोई नाक, मुख वा आँखामा छोए सङ्क्रमण सर्ने गर्दछ । तसर्थ सङ्क्रमित व्यक्तिले खोक्दा हातको बाहुलीले छोपेर मात्र खोक्नु पर्दछ । फ्लु पुष्टि भई लक्षणहरू देखिए ‘ओसेल्टेमिभिर’ नामक ‘एन्टिभाइरल’ औषधि दिन सकिन्छ । यो औषधि नेपाल सरकारले विशेषतः जोखिम समूहकालाई भाइरस पुष्टि भएमा निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ । भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (केन्द्रीय प्रयोगशाला) मा हुने गर्दछ । यद्यपि कोभिड–१९ को लहरपछि भने निजी अस्पताल वा प्रयोगशालाहरूले पनि परीक्षण गर्ने गरेको पाइन्छ । भाइरसको जटिलताबाट बच्ने उत्तम उपाय भनेको खोप नै हो । यो खोप शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललगायत विभिन्न निजी अस्पतालहरूमा लगाउने गर्दछ ।

अन्तमा मध्य डिसेम्बरसम्म चार प्रतिशतको हाराहारीमा देखिएको फ्लु भाइरस सन् २०२५ लागेसँगै ह्वात्तै बढेर झन्डै ३१ प्रतिशतको हाराहारीसम्म पुगेको छ । ‘स्वाइन फ्लु’ अर्थात् ‘एचवान एनवान पीडीएम ०९’ लाई प्रतिस्थापन गर्दै ‘एचथ्री एनटु’ अथवा ‘हङकङ फ्लु’ अहिले तीव्र गतिमा फैलिरहेको तथ्याङ्कले देखाउँछ । तीव्रता पाएको मात्र होइन, धेरै मानिसमा लक्षणले कडा रूप लिएको समेत देखिन्छ । अनि कतिपयमा खोकीले हप्तौँसम्म दुःख दिएको वा लम्बिएको पनि देखिन्छ । फ्लु वर्षेनि देखिने भाइरस हो र धेरैले केही दिनको आराम पनि स्वास्थ लाभसमेत गर्दछन् तर जोखिम समूहका व्यक्तिहरूले भने जटिलताको सामना गर्नुपर्ने जोखिम भएकाले सङ्क्रमित भएको अवस्थामा चिकित्सकको परामर्श लिनु उत्तम हुनेछ । फ्लुविरुद्धको खोप पनि सहज उपलब्ध भएकाले फ्लुको जटिलताबाट बच्न जोखिम समूहकाहरूले खोप लिनु सबैभन्दा राम्रो उपाय हुनेछ ।

(लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)

राससबाट